काठमाडौं- सोमबार काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा भएको बस दुर्घटनाले कोशीपारी क्षेत्रका गाउँ शोकमग्न छन् । दुर्घटनामा २७ जनाले ज्यान गुमाउँदा ४० भन्दा बढी घाइते भएका छन् । यो कहालिलाग्दो दुर्घटनाले थुप्रै गाउँ रित्तिएका छन् ।
भूकम्पबाट जोगिएर भत्किएको घरलाई पुर्न नयाँ बनाउने अभिलासासहित सोमबार अनुदान रकमका लागि गाविस र जिल्लामा सम्झौता गरेर घर फर्कदै गरेका कार्तिकेदेउराली र मदानकुडारी गाविसका अधिकांश गाउँ अहिले शोकमा डुबेका छन् ।
एउटै गाविसका ७ जनाको एकै चिहान भएपछि पुरै गाउँनै शोकमा डुवेको कार्तिके देउराली ७ का पदम प्रशाद गौतमले बताए ‘मेरो परिवारमा मात्र दुई जनाको मृत्यु भयो, पुरै गाउँमा सात जनाको मृत्यु भयो,’ उनले भने, ‘भाइ दीपक र काका गोविन्दल गौतमको र अन्य सात जनाको मृत्युले परिवार मात्र होइन गाउँनै रुवाएको छ ।’
गौतमले गहबाट आँसु झार्दै भने ‘परिवारमा रुवाबासी छ । भाइ केदारको अस्पतालमा उपचार भइरहेको छ । म लास बुझन डौढधुप गर्दैछु, बुहारीको साना साना छोराछोरी र अपाङ्ग छोरा र ७० वर्षै आमाको आँसु अझै रोकिएको छैन ।’
त्यस्तै, गोठपानी २ का यज्ञबाहादुर विक दाइको मृत्युले परिवारमा शोकाकुल बनाउनु साथै पुरै गाउँनै शोकमा रहेको बताए । ‘परिवार पाल्ने र घरव्यवहार गर्ने दाइ रमेशलेनै गथ्यो अहिले ३ वर्षे छोरा र आमाबुबा र श्रीमतीको आँसु दुई दिन अघिदेखि रोकिएको छैन दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुनेमा कार्तिके देउराली गाविसका ७, मादनकुडारीका ८ गोठपानी गाविसका २ र रामेछाप जिल्लाका २ जना रहेका छन् ।
बस दुर्घटनामा प्रहरीको पनि दोष
एक दिन अधि कतारबाट घर फर्किएका रामेछाप गुन्सेभदाउरे–७ का २१ बर्षीय ददीराम चौलागाई मृत्युलाई चुनौती दिएर आफू र परिवार बाचेको बताउँछन् । सोमबार बिहान काठमाडौंबाट गाउँ जान २० बर्षीया श्रीमती शान्ता र दुई वर्षे छोरी कृतिका सँगै बस चढेका उनि गन्तव्य तिर अधि बढ्दै थिए ।
बाटोमा आफूलाई केही असहज पनि महसुस भएको उनले सुनाए । १० बजेतिर धुलिखेल स्थित चेक पोइन्टमा प्रहरीले ओभरलोड ल्याएको भन्दै एक हजार रुपैयाँको चीट काटेको बताए । ओभर लोड भएको भन्दै प्रहरीले कारबाही गर्नुका साटो एक हजार रुपैयाँको चीट काटेर पठायो । उनले स्मरण गर्दै भने पाँचखाल र दोलालघाटमा बसको स्टार्ट बन्द भएर यात्रुले ठेलेपछि बस गन्तव्य तर्फ अघिबढेको थियो ।
छोरीको मुखमा रगत देखेपछि बेहोस् भएँ
अत्याधिक यात्रु र धेरै समान भएका कारण दोलालघाट पुगेपछि अत्याधिक गर्मी भएकाले श्रीमती र छोरीलाई लास्ट सिटमा राखेर आफू छतमा गए। उनले भने ‘केही घण्टामै बिर्तादेउराली ९ स्थित खहरेखोलाको उकालोमा पुगेपछि एक्कासी बस रोकियो र पछि हट्न थाल्यो ओट हाल ओट हाल भन्दै थिए बस खसिहाल्यो ।’
उनले भाव विह्वल हुँदै भने, ‘आफूभन्दा बच्चा र श्रीमतीको चिन्ताले सतायो । म दुई बल्ड्याङ् खाएपछि पाखामा पछारिएँ, श्रीमती र बच्चालाई खोजे, श्रीमती झाडीमा अड्किएको अवस्थामा र छोरी खोला नजिक घाइते अवस्थामा रोइरहेको र मुखबाट रगत आइरहेको देखेपछि म बेहोस भएँ ।






