रौतहट, ४ पुस । आन्दोलनरत मधेसी मोर्चाले मधेसमा ‘सरकारलाई अन्तिम धक्का’ दिने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि तनाव बढेर गएको छ। शनिबार रौतहटको गौर र वीरगञ्जमा तनाव देखियो।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गौरमा ११ जना प्रहरी घाइते भएका छन्। रौतहट प्रहरी प्रवक्ता राजेन्द्र पोखरेलले आन्दोलनकारीले ढुंगा प्रहारबाट प्रहरी नायव निरीक्षक त्रिभुवन साहसहित ११ जना प्रहरी घाइते भएका हुन्।
शनिबार मधेसी मोर्चाका कार्यकर्ताले कविर चोकमा टायर बालेर सडक अबरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले मोर्चाका एक कार्यकर्तालाई पक्राउ गरेपछि मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुंगामूडा प्रहार गरेका हुन्। अहिले गाैरस्थित वीपी चोक तनावग्रस्त छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारदेखि आन्दोलनलाई कडा बनाउन निर्णय गरेसँगै मोर्चाका कार्यकर्ता विहानैदेखि सडकमा निस्केर विरोध गरिरहेका छन्। मोर्चाका कार्यकर्ताले एउटा बारुणयन्त्र तोडफोड गरेका छन्। मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगाबाट बारुणयन्त्रको अगाडिको सिसा फुटेको छ भने चालक घाइते भएका छन्।
वीरगञ्जमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिबार पटक पटक झडप भएको छ । आफ्ना मागमा दबाब दिन ‘सरकारलाई अन्तिम धक्का’ भन्दै शुक्रबारदेखि बन्द कडा बनाउन प्रदर्शन तीव्र बनाएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच घण्टाघर र माइस्थानमा झडपका घट्ना शनिबार पटक पटक दोह्रिएपछि बजार क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।






