दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार घाइतेमध्ये केहीलाई चक्कुमार्फत हमला गरिएको थियो ।
आपराधिक पृष्ठभूमि रहेका ड्राइभरलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । यद्यपी, उक्त घटना आतंक फैलाउन गरे नगरेको बारे अझै जानकारी नभएको बताइएको छ ।
स्थानीय सरकारको बयानमा उक्त घटना नियोजित र मानिसहरुलाई घाइते बनाउने उद्देश्यसहित गरिएको बताइएको छ ।
‘घाइतेलाई अस्पताल पुर्याइएको र अनुसन्धान थालिएको छ,’ उक्त बयानले भनेको छ ।
चीनियाँ मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा घटनापछि मानिसहरु तितरबितर भइरहेको देख्न सकिन्छ ।
तीमध्ये केही घुँडा टेकेर सहयोग मागिरहेका देखिएका छन् भने कतिले घाइतेलाई बोकिरहेको पनि देख्न सकिन्छ ।
पुलिसले एसयुभी ड्राइभरको पहिचान ५४ वर्षे याङ जानयुनको रुपमा गरेको छ ।
स्थानीय मिडियाका अनुसार याङले हतियार र लागुऔषधको मामलामा जेल सजायँ भोगिसकेका छन् ।
एजेन्सी






