
लन्डन- बेलायतका लागि प्रस्तावित राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले बेलायत-नेपाल सिधै हवाई सेवा गर्ने योजना सुनाएका छन् ।
मंगलबारको संसदीय सुनुवाईमा बेलायतका लागि प्रस्तावित राजदूत सुवेदीले बेलायतसँग सिधा हवाई सेवा सुरु गर्ने, सहयोग र लगानी वृद्धि गर्ने लगायतका अवधारणामा आफ्नो कार्यकालको पहिलो दोस्रो, तेस्रो र चौथो वर्षमा गर्ने कामको रुपरेखा प्रस्तुत गरेका थिए ।
सुवेदीको प्रस्तुति सुनेपछि एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘तपाईका योजना सुन्दा त चुनावअघि राजनीतिक दलले प्रस्तुत गर्ने घोषणापत्र जस्तो लाग्यो ।’ व्यापक तयारीका साथ प्रस्तुत भएका सुवेदीले ईयुबाट बेलायत अलग भएर नेपाललाई खासै फरक नपर्ने बरु नयाँ शिराबाट सम्बन्ध सुरु हुने बताए ।
राजदूतको सुनुवाई भएसँगै एग्रिमोका लागि सम्बन्धित मुलुकलाई पठाइनेछ । एग्रिमो स्वीकृत भएसँगै बेलायतले नयाँ राजदूत पाउनेछ । अहिले बेलायतसहित अधिकांश मुलुकमा नेपालका कावा राजदूत छन् ।






