काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा हेभी वेटका नेताहरुले आफुले आफैलाई मत हाल्न नपाउने भएका छन् । आफुले आफैलाई मतदान गर्न नपाउने नेताहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम लगायतका दलका शीर्षस्थ नेताहरु रहेका छन् ।
जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बाट मतदान गर्नेछन् । तर उनी झापा– ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । ओलीको मतदान क्षेत्रमा वाम गठबन्धनबाट महेश बस्नेत उम्मेदवार रहेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले रौतहटमा मतदान गर्नेछन् । नेपाल काठमाडौं—२ का उम्मेदवार हुन् । नेपालले यसपटक आफैलाई मत दिन नपाउने भएका छन् ।

माओवादी नेता कृष्णबहादुर महराले पनि यसपटक आफुले आफैलाई भोट दिन नपाउने भएका छन् । दाङ–२ बाट उम्मेदवारी दिएका महराले भोट चाँही रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रमा दिने छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली मोरङ जिल्लाको विराटनगर महानगरपालिका —१४ जतुवामा रहेको छ । तर उनी सुनसरीबाट चुनाव लडेका उपेन्द्र यादव कोशी पश्चिमको सप्तरीका उम्मेदवार हुन् । उनले पनि आफैलाई भोट दिन नपाउने भएका छन् ।
राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर महोत्तरीबाट उम्मेदवारी दिएका छन् । उनले मत भने सर्लाहीको बलारा नगरपालिकामा दिने छन् । आफुले आफैलाई भोट दिन नपाउनेमा उनको पनि नाम रहेको छ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको मतदाता नामावली सर्लाही चन्द्रनगर नगरपालिका–२ मा रहेको छ । उनले धनुषा–३ बाट उम्मेदवारी दिएका छन् ।
भक्तपुर–२ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना काठमाडौं–२ मा मतदान गर्ने छन् । उनले पनि आफुलाई भोट दिन नपाउने भएका छन् ।
माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की झापा–१ बाट उम्मेदवार भएपनि आफुले आफैलाई मतदिन नपाउने भएका छन् । उनले काठमाडौंमा मतदान गर्नेछन् ।
माओवादी नेता झक्कुप्रसाद सुवेदीले काठमाडौं–६ बाट उम्मेदवारी दिएका छन् । उनले मतदान भने रोल्पामा गर्नेछन् ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पनि आफैलाई मतदान गर्न नपाउने भएका छन् । विराटनगर महानगरपालिका–१ मा मतदान गर्ने रिजाल मोरङ–२ बाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले पनि आफैलाई मतदान गर्न नपाउने भएकी छिन् । कैलाली–५ बाट उम्मेदवारी र्दिएकी राणाको डडेल्धुराबाट मतदान गर्नेछिन् ।






