लन्डन– बेलायती रक्षा राज्य मन्त्री मार्क ल्यानकाष्टरले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरवार स्थित एमाले संसदीय दलमा भएको भेटमा ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई हालैको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ तथा भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ ।
मन्त्री ल्यानकाष्टरले यसपटको चुनावी परिणामले नेपालमा स्थीर सरकारको सम्भावना देखिएकोले बेलायत नेपालमा थप लगानी गर्न उत्साहित रहेको बताउनुभएको छ । ‘स्थिर राजनीतिक परिस्थितीका कारण नेपालमा लगानी मैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ,’ ल्यानकाष्टरले भन्नुभयो ।
अध्यक्ष ओलीले राज्यमन्त्री ल्यानकाष्टरलाई धन्यवाद दिंदै विगतमा झैं नेपालको विकासका विविध क्षेत्रमा बेलायत सरकारको सहयोग जारी रहने अपेक्षा गरेको बताउनुभएको छ । अध्यक्ष ओलीले बेलायती सेनामा काम गर्ने सैनिकहरुलाई हुने गरेको विभेदका बारेमा राज्यमन्त्री ल्यानकाष्टरसँग जिज्ञासा राख्नुभएको थियो ।
राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको थियो । बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगति बारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराउनुभएको थियो ।






