जगन कार्की
लण्डन । विश्वप्यापी महामारीकोको अवस्था छ । विश्वको झन्डै एक तिहाइ जनसंख्या लकडाउनमा रहेको अवस्था छ । ती देशका सरकारहरु महामारीमा आफ्ना नागरिकहरुलाई जोगाउन अहोरात्र खटिरहेका छन् । साना-ठूला अत्यावस्यक सेवा बाहेकका ब्यापारहरु बन्द छन् । सरकारले नागरिकहरुलाई घरमा नै बस, तिम्रो गुमेको तलबको सकेसम्म अभाव नहुने गरी केहि हिस्सा पनि दिन्छौं भनिरहेको अवस्था छ ।
स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको बाजी लगाएर सर्वसाधारणको ज्यान बचाउन खटिएका छन्, जसलाई पीपीई र मास्क अत्यावस्यक छ । हरेक व्यक्तिको ज्यान जोखिमको अवस्था छ अझ सबैभन्दा पाको उमेरका, स्वास्थ्य सम्बन्धि समस्या भइरहेका हाम्रा आफन्तजनको रक्षामा सबैको ध्यान जान जरुरि देखिन्छ ।
संकटको घडीमा विशेष गरेर विभिन्न संघसंस्थाहरु सहयोगका लागि अग्रसर हुँदै अघिबढी रहेको अवस्था छ । बेलायतस्थित नेपाली समुदायमा पनि विभिन्न व्यक्ति र संस्थाहरु सहयोगकोलागि अग्रसर भई रहेको अवस्था छ । दूतावास पनि नेपाल सरकारको प्रतिनिधिको हिसाबमा विदेशस्थित आफ्ना नागरिकहरुले दुख नपाउन् भनि विभिन्न समितिहरु नै गठन गरेर हरेक तप्कामा पुग्न अग्रसर छ ।
केही नेपाली संघसंस्थाहरुले मास्क वितरण गर्ने र राहत सामग्री वितरण गर्ने कुराहरु पनि चलेकाछन् । मास्क वितरण गर्ने विषयमा विज्ञहरुसंग सल्लाह गर्दा एकै प्रकारको राय पाइयो ।
बजारमा पाइने सामान्य मास्क प्रभावकारी नरहेको साथै एकजना स्वास्थ्यकर्मीलाई दिनभरीमा कम्तिमा १० वटा मास्क आवश्यक हुन्छ । त्यो हिसाबले पनि बेलायतमा मात्र पनि ठूलो संख्यामा मास्क अस्पतालमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई नै जरुरी रहेको देखिन्छ भने सरकारले पनि अनावश्यक व्यक्तिहरुले मास्क प्रयोग गर्न जरुरी नभएको बताइरहेको अवस्था छ ।
सामान्य मास्कले भाइरस सर्नबाट कत्ति पनि बचाउन नसक्ने अर्थात् संक्रमितबाट आएको छिटा मास्कमा सरेर पनि संक्रमण हुने र मेडिकल्ली टेस्ट़ेड़ वाटर प्रुफ मास्कले मात्र काम गर्ने जानकारहरु बताउने गर्छन ।
डाक्टर नर्सहरुले प्रयोग गर्ने विशेष मास्कले मात्र संक्रमणको जोखिम कम गर्न सक्ने हुँदा बजारमा पाइने मास्क संक्रमित व्यक्ति या संक्रमित व्यक्ति नजिक जानेहरुले प्रयोग गर्न सकिने तर मास्क वितरण गर्ने अभियान चलाउंदै घर छोडेर निस्कनु नियम कानुनको उल्लङ्घन संगै त्यसले जोखिम पनि बढाउने एनएचएस फ़्रण्टलाइनमा कार्यरत एक डाक्टरको राय छ ।
संघसंस्थाहरुले मास्क वितरण गर्दा या अन्य सामग्री वितरण गर्ने हिसाबले घरघर जाने गरे सरकारले अत्यावस्यक सेवा बाहेक घरमा बस है भन्ने नियम पनि उल्लङ्घन हुने देखिन्छ । हाम्रो समाज आत्मप्रचारमा बढी लाग्ने चलन छ । १-२ मास्क र राहतका पोका सहयोग गरेको फोटा सामाजिक संजालमा हालेर सहयोग गरेको देखाउने होडबाजी पनि चल्ने गरेका छन् ।
घरमा बसिरहेको व्यक्तिलाई मास्क लगायतका सामग्री हस्तान्तरण गर्नुले उनीहरुलाई घर बाहिर निस्किएर जान पनि प्रोत्साहन गर्न सक्ने खतरा रहने बिज्ञहरुको राय छ । घरको मूल ढोका नै मास्क हो यसर्थ घर बस्नेलाई मास्क जरुरि नरहेको सरकारको ठहर हुन सक्ने बिज्ञहरु बताउने गर्छन ।
यसरी राहत सामग्री वितरण, मास्क वितरण गर्न जाने क्रममा जाने व्यक्ति आफै संक्रमणको सिकार हुन सक्ने खतरा पनि छ । यसर्थ अत्यावस्यक परेको ठाउंमा आफन्त या छिमेकबाट सहयोग लिनु र अन्य काममा सरकारका निकायको ध्यानाकर्षण गर्नु या सम्बन्धित निकायमा फोन गरेर सहयोग माग्नु उत्तम हुने एक स्थानीय काउन्सिलरको राय छ ।
अहिलेको अवस्थामा विद्यार्थीहरुलाई धेरैजसो युनिभर्सिटीले पनि खान र बस्नमा सहयोग गरिरहेको अवस्था छ । सहयोगको आवस्यकता हुने विद्यार्थीहरुलाई सोझै नेपाल एम्बेसीमा सम्पर्क गर्न पनि भनिएको छ । सबै भन्दा जोखिममा रहेको भूपू गोर्खाहरु हुनुहुन्छ । वहाँहरुका पनि अधिकांश छोराछोरी, आफन्तहरु बेलायतमा रहेको देखिन्छ । नहुनेहरुको तथ्यांक संकलन गरी वहाँहरुलाई पूर्णरुपमा आइसोलेसनमा राख्न पहल गर्ने तर्फ भूपू गोर्खा लगायत धेरै संघ संस्थाका स्थानीय सदस्यहरुको ध्यान जानुपर्ने जानकार हरुको राय छ ।
यसरी राहत र सहयोग गर्न जाने क्रममा कतै आफैले नियम कानन उल्लङ्घन गरिरहेको त छैन ? आफै संक्रमणको बाहक त बनि रहेको छैन ? आफुले प्रदान गरिरहेको मास्क मेडिकल विज्ञ द्वारा टेस्टेड या काम लाग्ने हुन् कि हैनन् ? आफु दौडेर पुग्नको सट्टा अन्य माध्यमबाट स्थानीय कोहिलाई जिम्मा दिएर सोही काम गरे कानुन सम्मत पनि हुने जानकारहरुले सुझाएका छन् ।
अझ सबैभन्दा महत्वपूर्ण आफु बसेको मुलुकको सरकारले जारी गरेका निर्देशनको पालन गर्नु बुद्धिमानी हुने विज्ञहरु बताउंछन् ।







