काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तिम संघारमा छ । करिब १० बर्षदेखि हुन नसकेको महाधिवेशन यही साउन २२ देखि २५ सम्म काठमाडौंमा हुने निश्चित भएपछि महाधिवेशनमा नेतृ उर्मिला थपलियाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले आफ्नो घोषणापत्रसमेत सार्वजनिक गरेकी छन् ।
कुशल वाककला र राम्रो बैचारिक क्षमता भएकी थपलिया ‘शारीरिक सुन्दरता’का कारण झनै लोकप्रिय छिन् । धादिङमा जन्मिएकी उनी जिल्ला कोषाध्यक्ष, निलकण्ठ उच्च माविको सचिव साथै विश्वभाषा क्याम्पस काठमाडौंमा स्ववियू सचिव हुँदै नेवि संघको केन्द्रीय राजनीतिमा संर्घष गरेर नै उदाएकी सक्रिय नेतृ यसपटक महामन्त्रीका लागि बलियो उम्मेदवार मानिन्छन् ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय उनी चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भइसकेकी छिन् । कांग्रेसको महासमिति सदस्य भइसकेकी उनले संगठनमा ‘एक पद, एक कार्यकाल’ प्रमुख एजेन्डा बनाएकी छिन् । व्यवसायिक र व्यवहारिक शिक्षा स्थापित गराउन, निजी र सरकारी शैक्षिक संस्थाहरु बीचको खाडल पुर्न संगठनलाई पुलको रुपमा काम गर्न सक्ने बनाउने उनको अठोट छ । संगठनभित्र ३३ प्रतिशत महिलाहरुको सहभागिता र समयमै महाधिवेशन गराउन उनले संकल्प लिएकी छिन् ।
थपलियाले चुनावी अभियानमा आफ्नो समर्थन सोचेभन्दा राम्रो पाएको पनि बताइन् । चुनावी अभियानबारे उनले भनिन्, ‘साथीहरू भेटघाटदेखि सुझाव लिने काम भएको छ । विशेषगरेर आफ्ना चुनावी ऐजेण्डा राख्ने र साथीहरूले दिएका सुझावलाई आधार मानेर अघि जाने काम भएको छ ।’
थपलियाले ‘हाम्रो नेविसंघ, संगठित र प्रशिक्षत नेविसंघ’ भन्ने अभियान लिएर आफू चुनावी मैदानमा खटिएको पनि बताइन् । ‘संगठनमा देखापरेका कमजोरीका बारेमा छलफल गरेका छौँ । सुझाव लिने काम गरेका छौँ । कसरी अन्य संगठनभन्दा फरक संगठन बनाउने बारेमा आफनो राय दिने गरेका छौँ,’ उनले भनिन् ।
थपलियाले राजनीतिमा अहिले गुट हावी भएको पनि बताइन् । उनले भनिन्, ‘नेपालको राजनीति त कस्तो भएको छ भने नेतामुखी, नातामुखी र दातामुखी भएको छ । यो अवस्था कायमै भएमा राजनीतिमा अझै विकृति बढ्नेछ । त्यसकारण यो समयैमा सच्चाउनु पर्छ । त्यसो गर्न सकेनौ भने भोलीका सन्ततीको लागि हाम्रा राजनीतिक दलले के शिक्षा दिने हुन, त्यो पनि चिन्ता छ ।’







