काठमाडौं, असार २६ । नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक आमरण अनशन गरेका डा. गोविन्द केसी आजदेखि फेरि आमरण अनशनमा बस्दै छन् ।
यसअघि सात पटकसम्म गरिएको आमरण अनशन तोड्ने क्रममा सरकारले आफू र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुसँग गरेका सम्झौता कार्यान्वयन र पालना नगरेको भन्दै डा.केसी आठौं पटक आमरण अनशनमा बस्न लागेका हुन् ।
जनता साक्षी राखेर गरेको पटक पटकका सम्झौता कार्यान्वयन नगरेर सरकारले धोका दिएकाले फेरि अनशन बस्न आफू बाध्य भएको डा. केसीको भनाइ छ ।
यसअघि सात पटकसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरभित्र अनशन बसेका डा. केसीलाई यस पटक त्यहाँ अनशन बस्न नदिने निकै ठूलो दबाब र धम्की आएको छ ।
यसअघि उनको मागमा समर्थन जनाएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै पदाधिकारी एवं केही चिकित्सकले यस पटक सहयोग पनि नरहने र अस्पताल हातामा अनशन नगर्न भन्दै दबाब दिँदै आएका छन् ।
यस पटक डा. केसीले पूर्व सहमतिहरु कार्यान्वयनका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसमेत गरेका छन् ।






