लन्डन, लर्डस क्रिकेट मैदानमा खेल हेर्न जांदा त्यहांको नियम पालना नगरे प्रवेश निषेध हुने दूतावासमा अवगत गराइएको छ ।
जुलाई १९ मा लर्डसमा हुन लागेको एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल हेर्न जांदै हुनुहुन्छ भने त्यहां पालना गर्नुपर्ने धेरै नियम रहेका र लर्डसको नियम फलो नगरे गेटमै रोकिनुपर्ने चेतावनी आयोजकले दिएका छन् ।
शुक्रबार सांझ लन्डन दूतावासमा आयोजित तयारी बैठकमा लर्डस भित्र जांदा के गर्न हुन्छ, के हुन्न, के लगाउने, के के लैजान पाइन्छ भन्ने जानकारी दिइयो ।
गर्न नपाइनेः खेल हेर्न जांदा फेन्सी ड्रेस लगाउन निषेध छ । जिप अप ज्याकेट, सेनासंग मिल्ने गार्मेट, कम्ब्याट वा कार्गो स्टाइलको ट्राउजर, डेनिम जिन्स, विज्ञापन वा गाली गलौज गरिएका चिन्ह अंकित टिसर्ट, कार्डिगन, चप्पल, मोजा बिना जुत्ता लगाउन निषेध छ । कुनै पनि ब्यानर, झन्डा, आतसवाजी वा वाद्यवादनका सामाग्री भित्र लैजान पाइने छैन् । १६ वर्ष मुनीका वालवालिका र ६५ वर्ष माथिकाले आफ्नो परिचयपत्र लैजानुपर्नेछ, फ्रिडम पास मान्य हुने छैन् । खेलका लागि भिआइजी टिकेटको व्यवस्था छैन् । तर, बेग्लै बसेर हेर्न बक्स भने बुक गर्न सकिनेछ । अनलाइन टिकेट खरिद गर्न परे १८ जुलाई राती ११.५९ भित्र गरिसक्नुपर्नेछ । प्रिन्टेड टिकेट प्रवेशद्धारमा त्यसै दिन लिन सकिने दूतावासले जनाएको छ । १२ जुलाइ मंगलबार पछि खरिद गरिएका अनलाइन टिकेट पोष्ट नहुने तर १९ जुलाइकै दिन पूर्वी गेटमा गएर संकलन गर्न सकिनेछ ।
लर्डस मुख्य ग्राउण्डमा कुनै पनि परफर्मेन्स गर्न पाइने छैन् । प्रथम नौमती बाजा गुल्मी यूके वा अन्य समूहले केही प्रस्तुति दिन चाहे बाहिर नर्सरी ग्राउण्डमा मात्र गर्न सक्नेछन् ।
पाइनेः पुरुषहरुले लाउन्ज सुट वा टेलर्ड ज्याकेट, ट्राउजर, सर्ट, टाइ लगाउन सक्नेछन् ।
महिलाहरुले ड्रेस, स्कर्ट, ब्लाउज, स्मार्ट टप (स्लिभलेस) र नेपाल अंकित टिसर्ट भने लगाउन पाउने छन् तर लेगिन्स, बिकिनी टप, ट्रयाकसुट लगाउन पाउने छैनन् ।
महिला पुरुष दुवैले धार्मिक, परम्परागत वा राष्ट्रिय पोशाक, सर्भिस युनिफर्म पनि लगाउन पाउने छन् ।
दर्शकले खाना आफैंले लैजान सक्नेछन् तर अल्कोहलको हकमा ६ प्रतिशत मुनी भए २ पाइन्ट र ६ देखि १८ प्रतिशतबीचमा ७५ सिएल लैजान अनुमति छ ।
कार्यवहाक राजदूत शरदराज आरनले इभेन्ट सबैको इज्जतसंग जोडिएकाले सफल बनाउन समुदायलाई आग्रह गरेका छन् । उनले ११ जुलाइ सांझ खेलाडीलाई स्वागत गर्न दूतावास प्रतिनिधि जाने र उनीहरुको सम्मानमा १२ जुलाइ सांझ दूतावासमा स्वागत समारोह गरिने जनाए ।
बैठकमा त्यस दिन कम्तीमा एकसय २० जना स्वयंसेवक खटाइने बताइयो । तमुधिं यूके, मगर संघ यूके, एनआरएनए यूकेले कम्तीमा दश दश जना स्वयंसेवक उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् भने हाइल्ली स्किल्ड र टियर वान भिजामा रहेका नेपालीहरु करिब एकसय जना यसमा खटिने कृष्ण शर्माले जानकारी दिए ।
बैठकमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङ, नर्सिङ एसोसिएसन यूकेका महासचिव विनोद बिकास सिम्खडा, मगर संघ यूके प्रतिनिधि, स्वयंसेवक संयोजन समितिका संयोजक कृष्ण शर्मा, दूतावास प्रतिनिधि, नेपाली टिभीका निर्देशक विजय थापासहित सञ्चारकर्मीहरुको उपस्थिति थियो ।







