देशभर एक साता ‘लकडाउन’, घर बाहिर निस्कन नपाइने

काठमाडौं । सरकारले मंगलबारबाट पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । सोमबार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले मंगलबारबाट एक हप्ताका लागि ‘पूर्ण लक डाउन’को निर्णय गरेको हो । मंगलबार बिहान ६ बजेबाट लागु हुनेगरी अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाइने छैन । औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर नकिस्किन सरकारले आदेश दिएको हो ।

सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको छ । हवाई उडानहरु पनि बन्द भएका छन् । सुरक्षा निकायले प्रयोग गर्ने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

निजी क्षेत्रका उद्योगहरु तथा कलकारखानामा कार्यरत श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक नीजि क्षेत्रबाट सञ्चालित उद्योगमा कार्यरत कार्मचारीहरुको विदा मिलाउन निर्देशन दिएको हो ।

यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मत्र उपस्थित हुने गरी सम्बधित कार्यालय प्रमुखले विदा दिने निर्णय पनि भएको छ ।

सरकारले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ । अभाव देखाएर मुल्य वृद्धि गर्ने, कालोबजारी गर्ने, जम्माखोरी गर्ने वा लुकाएर आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून अनुसार नियन्त्रणमा लिने र सामग्री जफत गरी वितरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय पनि गरेको छ । सरकारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत सजाय हुनेछ । सोमबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पतालबाट कोरोनाको रोकथाम, नियन्त्रण रउपचार सम्बन्धी कार्यका लागि नेपाली सेनाको चिकित्सक टोलीको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र नीजि क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन सुरु गर्ने र त्यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ ।

यस्ता छन् समितिको निर्णयहरु :

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।