काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएकी छिन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन्,’ यो भ्रमणले नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको छ ।’
स्वराजले भारत नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने पक्षमा रहेको भन्दै नेपालमा जारी भएको संविधानको पहिलो संशोधन सकारात्मक भएकोले अरु विषयहरु समाधान गर्दै अब नेपाल विकास र समृद्धिको बाटोमा जानु पर्ने सुझाव दिइन् । उनले भनिन,’ केही विषयहरु बाँकी रहे संवाद, सहमति र सहकार्यबाट अघि बढ्नु पर्छ । हाम्रो त सदभाव मात्रै हो । नेपालको समस्या नेपालीहरुले नै मिलाउने हो । त्यसो भए नेपाललाई राजनीतिक स्थायित्व र त्यसपछि विकासको बाटोमा अघि बढाउन सहयोग हुन्छ । त्यतातिर अब लाग्नु पर्छ ।’
जोइन्ट स्टेटमेन्ट नआएको विषयको जिज्ञासामा ‘नो कमेन्ट’ भनेकी उनले आफूले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको बताइन् । स्वराजले नेपालको भूकम्पपछिको पुनर्निर्माणमा भारतले सक्दो सहयोग गर्ने भन्दै अहिले भारतको चाहना नेपालको विकास मात्रै रहेको बताइन् ।






