वीरगञ्जमात्रै होइन अब उत्तर दक्षिण दुवैतिरका नाका बन्दः अध्यक्ष यादव

upendra yadavकाठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुको माग सम्बोधन गर्ने गरी तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुवैतिरका नाका अवरुद्ध गर्ने गरी देशब्यापी हुने चेतावनी दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिले सरकारलाई मुद्दा सम्बोधन गर्ने अवसर छ, तर राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन वीरगञ्जमात्रै होइन उत्तर र दक्षिण दुवैतिरका नाका बन्द गर्दै अघि बढ्छ । ‘

अध्यक्ष यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिँदै अबको आन्दोलन मधेसको मात्र नभई राष्ट्रिय रुपमै अघि बढ्ने र आन्दोलनको एउटा केन्द्र काठमाडौंसमेत बन्ने घोषणा गरे । उनले भने,’अबको आन्दोलन पहिला भन्दा विस्तारित हुन्छ । अहिले आन्दोलको स्वरुपमात्रै फेरिएको हो तर आन्दोलन जारी छ । सरकारले विदेशीको आन्दोलन भनेर दमन गर्‍यो तर यो देशभक्तिपूर्ण आन्दोलन हो । राज्यले चाहेर पनि आन्दोलनकारीले जातीय सहिष्णुता र राष्ट्रिय एकतामा आँच आउन दिएनन् । यो आन्दोलन विनाबर्दीका सेना बनेर भूगोल र सीमाको रक्षा गर्ने आन्दोलन पनि थियो । ‘

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन प्रति टिप्पणी गर्दै अध्यक्ष यादवले संघीयता गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको बताए । उनले भने,’ यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिँदैन । यो संयन्त्र समस्या हल गर्न बनाएको होइन ।’