मकवानपुर– काङ्ग्रेसका आठजना युवा नेताले महासमिति हुँदै महाधिवेशन गर्ने बाटोमा पार्टीलाई हिँडाउन जिल्ला सभापतिहरूलाई आग्रह गरेका छन् । त्यस्तै उनीहरुले महासमितिमार्फत संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब शुरु गर्न नेतृत्वलाई दवाव दिन पनि आव्हान गरेका छन् ।
नेताहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव र रामकृष्ण यादवले हेटौडामा जारी जिल्ला सभापतिको भेलामा पत्र वितरण गर्दै यस्तो आव्हान गरेका हुन् ।
‘०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं, यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने छ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ’ आठ नेताले जारी गरेको पत्रमा उल्लेख छ ।
उनीहरुले अलमलिएको पार्टीलाई दिशानिर्देश गर्न, सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन आवश्यक भएको पनि औंल्याएका छन् । ‘पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो, कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनव्र्याख्या आवश्यक छ’ आठ नेताले भनेका छन् ।






