पारसको शतकसँगै दक्षिण अफ्रिकामा नेपाल ७ विकेटले विजयी

काठमाडौं  २८ पुस, । कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै दक्षिण अफ्रिकाको अन्तिम अभ्यास खेलमा नेपालले इश्टर्न इन्भिटेशनल ११ माथि ७ विकेटको जित हात पारेको छ ।

इश्टर्नले प्रस्तुत गरेको २५७ रनको लक्ष्य नेपालले पारसको शतकको मदतमा ४६.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।

कप्तान पारस १२३ रनमा अविजित रहे । ११४ बलको सामना गरेका उनले १५ चौका र २ छक्का हानेका थिए । शदर भेसवाकर २१ रनमा अविजित रहे । उपकप्तान ज्ञानेन्द्र मल्लले शर्तकतक पुरा गरे ।

नेपालले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । दोस्रो ओभरमा नेपालले कुल ५ रन जोड्दा ओपनर नरेश बुढायरलाई पहिलो विकेटको रुपमा गुमायो ।

ओपनर सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्रले नेपाली पारीलाई केही उकासे । सुवास दोस्रो विकेटका रुपमा व्यक्तिगत ३२ रनमा आउट भए ।

त्यसपछि कप्तान र उपकप्तानले नेपाललाई जिततर्फ डोहोर्‍याए । ज्ञानेन्द्र ५३ रनमा आउट भए । उनले ९२ बलमा दुई चौकाको मदतमा अर्धशतक पुरा गरेका थिए ।

यसअघि पहिले व्याटिङ गरेको इश्टर्नले ४८.३ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।

नेपालका कप्तान पारस खड्काले ३ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले दुई डेमन राख्दै ३६ रन दिए । सोमपाल कामी, करण केसी र शक्ति गौचनले समान २-२ विकेट लिए भने बसन्त रेग्मीले एक विकेट लिए ।