गोरखा २९ पुस, । तिब्बतसँग सिमाना जोडिएको गोरखाको उत्तरी दुर्गम गाउँ छेकम्पार-९ निलेस्थित हिउँपहिरोमा फसेका दुई जनालाई उद्धार गरिएको छ ।
चार दिनसम्म हिउँ पहिरोमा फसेका छिरिङ दोर्जे र उनकी श्रीमती छिरिङ यामजोङलाई स्थानीय बासिन्दाले सोमबार दिउँसो जीवितै उद्धार गरेका हुन् ।
छेकम्पारको छुलेनिले गाउँबाट डेढ घण्टाको दूरीमा रहेको धेरन गुम्बा कुर्दै आएका दम्पती हिउँ पहिरोमा फसेका थिए । गुम्बामा बस्दै आएका आनीहरू विशेष कार्यक्रममा सहभागी हुन काठमाडौँ गएपछि ती दम्पतीले गुम्बा कुर्दै आएका थिए ।
यसैगरी निलेमा रहेको निले लघुजलविद्युत् आयोजनामा पनि हिउँपहिरोले क्षति पुर्याएको स्थानीय निमा लामाले जानकारी दिए । ‘तीन दिनसम्म हिउँ खनेर फ्याँक्दासमेत विद्युत् गृहको छानो भेटाउन सकेनौं’-लामाले भने, ‘खौंको चौंरी मरेको छ, स्थानीयको रुवाबासी छ ।’
गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले हिउँ पहिरोले पुर्याएको क्षतिबारे विस्तृतमा जानकारी आउन बाँकी रहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले बाक्लो हिमपातले गर्दा प्रहरी घटनास्थलमा पुग्न नसकेको बताए । रासस






