दार्चुला २६ असोज । दार्चुला दल्लेकबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको से १ ज २६७ नम्बरको जीप दुर्घटना हुदा १७ जना घाइते भएका छन्। जीप अपी नगरपालिका ८ को भेरागाडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
२० जना यात्रु सवार रहेको जीप दुर्घटना हुँदा घाइते भएका १७ जनालाई जिल्ला अस्पतालमा दार्चुलामा उपचारका लागि पुर्याइएको थियो। तीमध्ये चार जना गम्भीर घाइतेहरुलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको छ ।
बाँकी घाइतेहरुलाई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशील सिंह राठोरले बताए । गम्भीर अवस्थामा कोहलपुर रिफर गरिएकाहरुमा जीप चालक अपी नगरपालिका १२ का २५ वर्षीय गौरराम लोहार, बैतडी डिलाशैनी घर भई प्रहरी चौकी दल्लेखमा कार्यरत प्रहरी जवान शुरेस बहादुर कार्की, खार गाविस– ७ का ५४ वर्षीय जसमल सिंह ठगुन्ना र खार ९ का २९ वर्षीय कृष्ण सिह ठगुन्ना रहेको प्रहरीले जनाएको छ।
जिल्ला असपताल दार्चुलामा उपचाररत घाइतेहरुमा खार– १ की १५ वर्षीय कलावती पार्की, खार ९का २९ वर्षीय प्रेमसिह ठगुन्ना, खार ९ की २१ वर्षीय लक्ष्मी ठगुन्ना, अपी ८ का ४२ वर्षीय धनसिंह शाहु, खार ९ का १६ वर्षीय प्रकाश ठगुन्ना, खार ९ की ९ वर्षीय गिता ठगुन्ना, मथुरा ठगुन्ना, खार ७ का १६ वर्षीय रघुवीर ठगुन्ना, खार ८ का १७ वर्षीय रुकुम ठगुन्ना, २२ वर्षीया गोमती ठगुन्ना र १६ वर्षीय सन्तोष ठगुन्ना रहेका छन्। त्यसैगरी खार ४ का १२ वर्षीय पदम ठगुन्ना र ४० वर्षीय कृष्ण ठगुन्ना रहेको जिल्ला असपताल दार्चुलाले जनाएको छ।
ओरालोमा जीपमा क्षमता भन्दा बढी भार रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ । जिप सडक भन्दा १ सय मिटर तल खसेको भएपनि अधिकांश यात्रुहरु पहिलेनै जीपबाट बाहिर निस्किएकाले क्षति कम भएको प्रत्यक्षदर्शीले बताएका छन्। आज घटस्थापना भएकाले दशैंका लागि आवश्यक समान खरिद गर्न सदरमुकाम आइरहेका खार गाविसका स्थानीय उक्त जीपमा चडेका थिए ।






