वामदेव भन्छन्- देउवाबाट दिल्लीमा नेपालीको घोर अपमान

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवहाक अध्यक्ष वामदेव गौतमले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम अधिकारसम्पन्न नेपाल र नेपाली जनताको घोर अपमान गरेको आरोप लगाउनुभएको छ ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कार्यवहाक अध्यक्ष गौतमले संविधान संशोधनबारे प्रधानमन्त्रीले भारतसमक्ष गरेको प्रतिवद्धताले नेपाल, नेपाली र सार्वभौम संसदको अपमान भएको दाबी गर्नुभएको हो ।

‘नेपाल र नेपालीको एकता तथा स्वतन्त्रताविरुद्ध भएकाले संसदले असफल बनाएको संविधान संशोधनलाई आफ्नो व्यक्तिगत अधिकार जसरी प्रधानमन्त्रीले संसोधन गर्ने आश्वासन दिएर गलत गर्नुभएको छ’, आक्रोशित हुँदै उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेका सम्झौता पनि नेपाल र नेपालीको हितविपरित भएको उहाँले टिप्पणी गर्नुभयो । कार्यवहाक अध्यक्ष गौतमले औपचारिक भ्रमणमा पनि अनौपचारिक रुपमा भारतीय पक्षबाट ‘वार्मअप’ भएको भन्दै भारतले लतार्ने र प्रधानमन्त्रीले लतारिने काम गरेको टिप्पणी गर्नुभयो ।

यही ७ गतेदेखि भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्कने कार्यतालिका छ ।