उम्मेदवारी दर्ता उत्साहपूर्ण : फोरम पनि निर्वाचनमा सहभागी

काठमाडौं – तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।

स्थानीय निकाय २०५९ सालबाट कर्मचारीको हातमा गएको थियो । नयाँ संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक हुन लागेको निर्वाचन आमचासोको विषय बनेको छ । राजनीतिक अन्योलका कारण चुनाव हुने कि नहुने भन्ने संशयबीच उत्साहजनक उम्मेदवारी दर्ता भएको भन्दै निर्वाचन आयोगले मतदान गराउन आतुर रहेको प्रतिक्रिया दिएको छ । विभिन्न स्थानमा बाजागाजा, झाँकी र जुलुससहित दलहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले विभिन्न जिल्लामा तालमेल गरी उम्मेदवारी दिएका छन् भने काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा भाग नलिने अडान लिएको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको प्रमुखलगायत अन्य स्थानमा पनि उम्मेदवारी दिएको छ । मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणका कुनै पनि स्थानमा उम्मेदवारी दिएको छैन ।

बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिए पनि केही स्थानमा राति अबेरसम्म मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । ठूला दलले ४ बजेपछि मात्र उम्मेदवारको टुंगो लगाएर एकैपटक उम्मेदवारी दर्ताका लागि पुगेकाले समय लागेको आयोगको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार तीनवटा प्रदेशका ४ वटा महानगरपालिका, १ उपमहानगर र ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ ।

महानगरका १ सय २३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी २ हजार ५ सय ९८ वडाध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । तीमध्ये २ हजार ५ सय ९८ वडा सदस्यमा महिला मात्र निर्वाचित हुँदैछन् । २ हजार ५ सय ९८ दलित महिलाका लागि मात्र उम्मेदवारी दिने व्यवस्था गरिएको छ ।

४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका तीनवटै प्रदेशमा निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएका छन् ।
यसपटकको निर्वाचनमा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी प्रावधान छ । अधिकांश दलले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन् ।

काठमाडौंमा एमाले र राप्रपाले तालमेल गर्दा एमालेका विद्यासुन्दर शाक्य मेयर र राप्रपाका राजाराम श्रेष्ठले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
सुरुमा एक्लाएक्लै उम्मेदवारी दिने तयारीमा रहेका यी दुई दलका शीर्ष नेताबीच एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा चुनावी तालमेलको सहमति भएको थियो । एमाले र राप्रपाबीच ललितपुर महानगरपालिकामा पनि चुनावी तालमेलको कुरा भएको छ । तर दुवै दलले उम्मेदवारी दिइसकेकाले उम्मेदवारी फिर्ता लिने बेलासम्म कुरा मिल्ने जानकारी एमाले सचिव योगेश भट्टराईले दिनुभयो । पार्टीको चुनाव चिह्न नपाएपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग तालमेल गर्दै फोरमको चुनाव चिह्न मसाल लिएर उम्मेदवारी दर्ता गराएको छ ।चुनावी थ्रेटका रूपमा लिइएका मधेसकेन्द्रित दल र नेत्रविक्रम चन्दका कार्यकर्ताले कुनै पनि स्थानमा उम्मेदवारी दर्तामा अवरोध नगरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई मनोनयन दस्तुरमा ५० प्रतिशत छूटको व्यवस्था मिलाएको थियो । संसद्मा रहेका दलबाट उम्मेदवार बनेकाले मतपत्रमा दलगत चुनाव चिह्न पाउनेछन् भने अन्य दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव चिह्न पाउनेछन् ।

सत्ताबाट बाहिरिएको भोलिपल्टै राप्रपा र एमालेबीच काठमाडौं महानगरपालिकालगायत देशका केही स्थानमा तालमेल भएको छ । स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने पार्टी स्थायी समितिको निर्णयअनुसार केही जिल्लामा तालमेल भएको जानकारी एमाले प्रचार विभाग प्रमुख भट्टराईले दिनुभयो ।

कांग्रेसका कार्यालय सचिव प्रदीप पराजुलीले दोलखा, मकवानपुरलगायत केही जिल्लाका केही स्थानमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गरी उम्मेदवारी दिइएको जानकारी दिनुभयो ।
‘शान्तिपूर्ण र उत्साहजनक’
निर्वाचन आयोगले ३ वटै प्रदेशमा उम्मेदवारी मनोनयनपत्र दर्ताकार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएकाले आयोग उत्साही भएको बताउनुभयो । ‘निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको छ’, यादवले भन्नुभयो, ‘यसैगरी मतदानकार्य गराउन आयोग आतुर छ ।’
यादवले काठमाडौं र ललितपुरको उम्मेदवारी दर्ताको स्थलगत अवलोकन पनि गर्नुभएको थियो ।

कहाँ कुन दलबीच तालमेल
काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा

पहिलो चरण निर्वाचन
जिल्ला : ३४
महानगर ४, उपमहानगर १, नगरपालिका ९२,
गाउँपालिका : १८६
जम्मा तह : २८३, वडा २५९८
जम्मा निर्वाचित हुने : १३,५५६
मतदाता : ४९,५६,९२५
मतदान केन्द्र : ६,६४२