गगनशिला खड्का
गुल्मी २८ पौष । जिउँमा चोली,फरिया,निधारमा टिकी,आँखामा गाँजल,कपालमा डोरी,हातमा चुरा,घाँटीमा पोते र तिलहरी लगाएर चिटिक्क परेका साना नानीहरु हातमा कलश,माला र अविर लिएर पाहुँनाको स्वागतमा उभिएका थिए भार्से गुल्मीका पञ्चकन्याहरु ।
त्यसपछिको लाईनमा थिए आफ्नै परम्परागत भेषभुषामा सजिएका भार्सेली महिलाहरु । त्यहाँ हेर्दा लाग्थ्यो कुनै विवाह वा भब्य उत्सव नै थियो । त्यस्तो उत्सव थियो जुन उत्सवमा गाउँलेहरुको खुसी पनि जोडिएको थियो । बर्षोदेखी आफ्नो गाउँको कुनै उत्सव मनाउन नपाएका गाउँलेहरु आफ्नो गाउँलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्दाको उत्सवमा स्वतस्फुर्त रुपमा पञ्चेबाजा र नाचगानका साथ सहभागी थिए ।
आफ्नो गाउँलाई खुल्ला दिशा मुक्त,पुर्ण साक्षर र पुर्ण खोप गाविसको रुपमा घोषणा गर्न पाउँदा भार्से ५ निवासी जुनु दर्लामी खुसीले गद्गद छिन् । भार्से स्वास्थ्य चौकीमा सिनियर अनमीको रुपमा कार्यरत दर्लामीलाई आफ्नो गाउँ पनि यसरी खुल्ला दिशामुक्त गाविस हुन्छ भन्ने लागेकै थिएन । तर आफुले कल्पना समेत नगरेको कुरा प्रत्यक्ष देख्न र भोग्न पाएकी उनी भन्छिन् ः“ म सानो सानो हुदाँ यहाँ वरीपरी कति गुँहु हुन्थ्यो,तर अहिले यस्तो सफा छ, ”
उनले गाउँलेहरु यति छिट्टै परिवर्तित हुन्छन् र आफ्नो गाउँ पनि सरसफाईमा पुर्ण हुन्छ भन्ने सोचेकी थिइनन् । दर्लामी जस्तै धेरैले नसोचेको काम पनि ग¥र्यो भने सकिन्छ भन्ने उदाहरण गुल्मीका ४६ गाविसका स्थानियले पेश गरिसकेका छन् । भार्से गाविसले तिन सभ्यताका सुचाकाङ्क घोषणा गरी ४७ औँ स्थानमा आफुलाई उभ्याउन सफल भएको छ ।
गुल्मी जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने उदेश्यका साथ अहिले गाउँहरु धमाधम खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन् । गाविसलाई खुल्ला दिशामुक्त बनाउने अभियानका साथ सञ्चालन भएका कार्यक्रमहरुको प्रभावका कारण पनि यस्ता अभियानले सार्थकता पाएको स्थानिय बासिन्दाको भनाई छ ।
जिल्ला विकास समिति गुल्मी अन्र्तगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले यसै अभियानलाई लक्षित गरी गाउँ गाउँमा सरसफाईका कार्यक्रम सञ्चालन गरीरहेको छ । पुर्ण आनीबानी परिबर्तन सम्वन्धी तालिमहरु,सबैले दिशा खाइरहेका छन् भन्ने कुराको प्रयोगात्मक तालिम अहिले परियोजना अन्र्तगत सञ्चालन भईरहेको जिल्ला विकास समिति गुल्मी अन्र्तगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना गुल्मीका वास सल्लाहकार शम्भु शाहले बताए । उनले भने ः“हामी मान्छेहरु जति नै सफा छौँ भनेपनि उनिहरु गुहुँ खान बाध्य छन् भन्ने तालिमबाट सिकाईरहेका छौ्रँ । ” शाहले परियोजनाले गुल्मी जिल्लामा खुल्ला दिशामुक्त गाविस घोषणा हुन बाँकी रहेका गाविसमा यस्ता तालिमहरु सञ्चालन गरीरहेको जानकारी दिए ।
उनले स्थायिन स्तरका सरोकारवालाहरुलाई सरसफाईको बारेमा राम्रो संग बुझाउन सक्ने हो भने पुर्ण सरसफाई गाउँ घोषणा गर्न कुनै समस्या नभएको बताए । उनले परियोजनाले एउटा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरेवापत एक लाख नगद पुरस्कार स्वरुप प्रदान गर्ने बताए ।सोही कार्यक्रम अन्र्तगत भार्सै गाविसलाई पनि एक लाखको चेक स्थानिय विकास अधिकारी डिलाराम पन्थी र वास सल्लाहकार शाहले संयुक्त रुपमा प्रदान गरे । गुल्मी जिल्लामा अव खुल्ला दिशा मुक्त गाविस घोषणा नभएका एक नगरपालिका सहित २८ गाविस रहेका छन् । यी बाँकी रहेका गाविस र एक नगरपालिका पनि बैशाख भित्रमा घोषणा गर्ने गरी काम भईरहेका स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए । घोषणा सभामा बोल्दैँ गुल्मी क्षेत्र नं १ का सभाषद कृष्ण बहादुर छन्तेलले आफ्नो गाउँको सरसफाई पहिले स्थानिय आफैँले गर्नुपर्ने बताए । उनले आफ्नो गाउँ सफा राख्यो भने मात्र त्यस गाउँको सिको अन्य गाउँलले पनि गर्दै जाने बताए ।










