बन्दको अवज्ञा सबैतिर

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा माओवादीले छुट्टाछुट्टै आह्वान गरेका बन्दको विरोधमा यूवाहरु सडकमा उत्रिएका छन् । तिमीहरु बन्द गराउन सक्छौ भने हामी बन्द खुलाउन सक्छौ”, “टुलुटुलु हेरेर नेपाल बन्द खुल्दैन”, “नेपाल बन्द छैन” लेखिएका प्लेकार्ड र व्यानर हातमा बोकेर यूवाहरु बन्दको विरोधमा उत्रिएका छन् ।
बानेश्वर, माइतीघर, कंलकी, चक्रपथलगायतका ठाउँमा नेपाल बन्द छैन, खुला छ भन्दै युवाहरु निस्किएका छन् । उनीहरु आफूसँग भएका गाडी लिएर सडकमा निस्किएको अभियन्ता मध्येका एक मिलन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘बन्दविरुद्ध साईकल, मोटरसाइकल, कार, जोसँग जे छ त्यसमै चढेर आउनुभएको छ । बन्दले सबैलाई असर गरेकोले हामी बन्दविरुद्ध भन्दा पनि नेपाल खुला छ भनेर हिँडेका हौं ।’
बन्दको विरोधमा बानेश्वर, माइतीघर, कंलकी, चक्रपथलगायतका ठाउँबाट निकालिएको  र्‍याली सहिदगेटमा पुगेर कोणसभामा परिणत हुने उहाँले बताउनुभयो । बसन्तपुरमा अर्को यूवाको अर्को समूले स्वस्फूर्त रुपमा अभियान गर्दैछ । बन्दका कारण पढ्न नपाएको भन्दै बसन्तपुर डबलीमा युवाहरु भेला भएर कक्षाकोठाको नक्कल गरी पढ्ने र पढाउने तयारी भैरहेको अभियन्ता नारायण कडरियाले जानकारी दिनुभयो । बन्द सदाका लागि बन्द गरौ भन्ने उदेश्यले आफूहरु यो अभियानमा लागेको उहाँले बताउनुभयो ।
संविधान जारी गर्ने दिन माघ ८ आउन ९ दिनमात्र बाँकी हुँदा विभिन्न राजनीतिक दलले बन्द आह्वान गरेकाले त्यसको विरोधमा आफूहरु उत्रिएको उनीहरुले बताएका छन् । जति दिन बन्द हुन्छ त्यति दिन आफूहरु बन्द खुलाउन हिँड्ने अभियानमा सहभागीले बताएका छन् । संविधानसभा निर्वाचनमा सहभागी भएका दलले नेपालमा बन्दले विकास र अर्थतन्त्रमा अवरोध गरेको भन्दै कहिले बन्द नगर्ने प्रतिवद्धता आफ्नो घोषणापत्रमा जनाएका थिए । तर संविधानसभामा तेस्रो ठूलो दलको रुपमा रहेको एकीकृत नेकपा माओवादी र अरु प्रतिनिधित्व गरिरहेका दलले कहिल्यै बन्द नगर्ने आप्नो बाचा बिर्सेर बन्द आह्वान गरेका छन् ।