काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०७४ साल मङ्सिरमा चुनाव भएर आफ्नो पार्टीले बहुमत ल्याउँछ, अनि गठबन्धन सरकार निर्माणको शृङ्खला सकिन्छ ।”
संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको घटना स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले लोकतन्त्रमा सहमतिका आधारमा होइन, प्रतिपक्षको भूमिका हुनुपर्छ भनेर जोड दिएकाले सहमति बन्न नसकेको बताउनुभयो ।
अनौठो र अनुपयुक्त ढङ्गबाट सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको प्रतिपक्षमा बस्ने निर्णयले सहमति नमान्ने र भत्काउने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूहरु सधैँ राष्ट्रिय सहमतिकै पक्षमा छौँ, प्रमुख तीन राजनीतिक दलबीच सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।”
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रिय सहमति नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको भन्दा पनि राष्ट्रिय सहमति बन्ने कि नबन्ने, संविधान लागू गर्ने, पुनःनिर्माण, मधेसमा उठेको मुद्दालगायतका विषयवस्तुलाई समाधान गर्ने कुरा बढी महत्वपूर्ण छन्, सरकारका बारेमा जति चासो हुने गरेको छ, त्योभन्दा बढी सञ्चारमाध्यमले राष्ट्रिय एकतामा चासो दिन आवश्यक छ ।”
राष्ट्रिय सहमति बन्यो भने मात्र सरकारको जिम्मेवारी लिने भन्ने कुरा भएको स्पष्ट गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना छ, राष्ट्रिय एकता बन्ने कुरा महत्वपूर्ण छ ।”
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको चहनाअनुरुप संविधानसभाबाट समावेशी र प्रगतिशील संविधान जारी भएकाले सबै राजनीतिक दल यसको कार्यान्वयनमा लाग्नुपर्छ भन्नुभयो ।






