लन्डनमा ‘नेपाल घर’ निर्माण अभियान प्रारम्भ, पहिलो दिनमै ७० हजार पाउण्डको प्रतिबद्धता

NRN Uk 2016 033

लन्डन– लन्डनमा ‘नेपाल घर’ निर्माण अभियान घोषणालगत्तै पहिलो दिनमै ७० हजार पाउण्डको प्रतिबद्धता आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नेपाली घर निर्माण गर्ने ‘ड्रिम पोजेक्ट’ का लागि सुरुवातमै ७० हजार पाउण्डको प्रतिबद्धता आएको हो ।

एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले कम्तिमा ५००० पाउण्ड प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले कार्यसमितिका सदस्यहरुले कम्तिमा १००१ पाउण्ड सहयोग रकम दिने भएका छन् । एनआरएनए यूकेका संरक्षकहरु र कार्यसमितिका पदाधिकारी र सदस्यहरुबाट मात्र जम्मा ६९७१२।९९ पाउण्ड जम्मा हुने प्रतिबद्धता आएको छ ।

यसैबीच लण्डनको ब्लू ओर्चिड रेस्टुरेन्टमा मे १५ मा बसेको ५० जनाभन्दा बढी सल्लाहकारहरुको उपस्थितिमा भएको गैर आवासीय नेपाली संघ यूकेको कार्यसमितिको छैटौं बैठकले ‘ड्रिम प्रोजेक्ट’  भन्ने गरिएको नेपाल हाउस निर्माण परियोजनालाई कार्यान्वयन गराउन विभिन्न अल्पकालीन र दीर्घकालीन योजनाहरुको तर्जुमा गरेको छ ।

बैठकमा कार्यसमितिका सदस्य इन्जिनियर राजेश पाठक, अध्यक्ष मुछेत्र गुरुङ र नेपाल हाउस परियोजनाका संयोजक योग फगामीबाट प्रस्तुत गरेको नेपाल हाउसको प्राबिधिक रुपरेखा, प्रोजेक्ट रिपोर्ट, समय तालिका, नक्सा जस्ता आधारभूत विषयहरुमा केन्द्रित रह्यो ।

अध्यक्ष मुछेत्र गुरुङले नेपाल हाउसको निम्ति फण्ड रेइजिङका विभिन्न अवसर र सम्भावनाहरुको खोजी गर्दै न्युनतम १.५ मिलियन पाउण्ड उठाउन बेलायतमा भएका नेपाली संघसंस्थाहरु, विभिन्न ब्यक्ति र बिजनेस इन्टरप्राइजहरु, बेलायती सरकार र संस्थाहरु, एनआरएन आइसीसी, च्यारिटी फण्ड र एनआरएन यूकेका पधाधिकारी र सदस्यहरुबाट कोष संकलन गर्न सकिन्छ भन्ने प्रस्तावलाई सकारात्मकरुपमा ग्रहण गरिएको छ ।

नेपाल हाउस परियोजनाका संयोजक योग फगामीले आफ्नो प्रस्तुतिको क्रममा पेश गरेको अध्यक्ष मुछेत्र गुरुङको साथ र नेतृत्वमा रहने गरी नेपाल हाउस प्रोजेक्टलाई गतिशील बनाउन एक स्टेरिङ कमिटीको गठन गर्नु पर्ने प्रस्तावलाई पनि बैठकले सर्बसम्मतिले पारित गरेको छ ।

प्रस्तुतिको अन्तमा उपाध्यक्ष फगामीले नेपाल हाउस परियोजनालाई कार्यान्यवन गर्न गराउन एनआरएनए यूकेका संरक्षकहरु र पदाधिकारीहरुलाई जिम्मेवारीहरु बाँडफाँड गर्दै बिभिन्न विभागीय उपसमितिहरु निर्माण गरी प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव पनि पारित भएको छ ।

बैठकले पारित गरेका उक्त बिभिन्न बिभागहरु अन्तर्गत रही एनआरएन यूकेका वर्तमान कार्यसमितिभित्र र बाहिर रहेका जोसुकै ब्यक्तिहरुले पनि आफ्नो रुची, ज्ञान, अनुभव र बिशेषज्ञताको आधारमा एक वा अनेक जिम्मेवारीहरु लिनसक्ने जारी विज्ञप्तीमा जनाइएको छ । त्यसैगरी समयान्तरमा परियोजना अलि परिपक्व र विकसित हुँदै जाँदा अन्य विभाग र उपसमितिहरु पनि बनाउने तयारी भएको छ ।

जिम्मेवारी बाँडफाँड :
बैठकले सम्बन्धित विभागहरुका निम्ति म्यानेजिङ डाइरेक्टर बोर्ड अफ ट्रस्टी वर्किङ स्टेरिङ कमिटीमा मुछेत्र गुरुङ, रजिष्ट्रेशन र च्यारिटी सनत गुरुङ, डिटेल प्रोजेक्ट रिपोर्ट राजेश पाठक, ल्याण्ड पर्चेस सर्भे रिसर्च डमर घले, च्यारिटी फण्ड रेइज सूर्य गुरुङ, पब्लिक रिलेशन तथा नेशनल एण्ड इन्टरनेशनल कुल आचार्य, कन्सट्रक्सन एण्ड भ्यालुएसन योगेन्द्र क्षेत्री, लिगल एक्सपर्ट अड्भाइजरी बडी महेन्द्र कँडेल, पब्लिकेशन एण्ड मिडिया खुशी लिम्बु र नरेश खपांगी, अनरेरी अड्भाइजरी बडी महन्त श्रेष्ठ र अशोक श्रेष्ठ, फण्ड कलेक्सन दीपक श्रेष्ठ र ललित न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

कसले के भने ?
बैठकमा नेपाल हाउस निर्माण अभियानलाई लिएर विभिन्न धारणाहरु राखेका थिए ।

डमर घलेले नेपाल हाउस २५ को सेरोफेरोमा बनाउने योजनाबारे धारणा राखे भने सूर्य गुरुङले आफ्नो विभागमा रहेर काम गर्न चाहने ब्यक्ति ब्यक्तित्वहरुलाई स्वागत गर्न सकिने बताए । उनले प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पनि स्मारक नेपाल हाउसमा राख्न जरुरी भएको ध्यानाकर्षण गराएका थिए ।

एनआरएन यूरोप संयोजक कुल आचार्यले १।५ मिलियनको बजेटलाई बढाउन पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । आचार्यले एनआरएनको युरोपेली क्षेत्रीय भेला डेनमार्कको राजधानी कोपेन्हेगनमा आगामी जुलाई ३० र ३१ मा हुन गइरहेको र यसमा एनआरएनए यूकेको तर्फबाट अधिकतम संख्यामा सहभागी हुन आब्हान गरे । पछि बैठकले आईसीसी सदस्य संगीता मरहट्ठालाई युरोपेली क्षेत्रीय भेलामा जानेहरुको टोली बनाउन संयोजक तोकेको छ ।

महेन्द्र राज कँडेलले नेपाल हाउस एउटा सपना भएको जनाउँदै यसलाई पुरा गर्न सकिने आत्माविश्वास व्यक्त गरे । प्रेजेन्टेशनको क्रममा नेपाल हाउसका निम्ति कम्तिमा १ हेक्टर जग्गा चाहिने भनिए पनि सल्लाहकार डा. चन्द्रबहादुर गुरुङ लगायत कतिपयले १ हेक्टरले नपुग्ने र २ क्टर जति चाहिने सुझाव पेश गरेका थिए ।

बैठकले आगामी सेप्टेम्बर ११ मा आयोजना गर्ने तय भएको संघसंस्थाहरुका प्रतिनिधिहरुको बैठकका लागि आवश्यक गृहकार्य गर्ने गरी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । बैठकले आगामी च्यारिटी डिनर कार्यक्रम सम्बन्धमा च्यारिटी विभागको सोहि दिन बिहान बसेको बैठकले गरेका निर्णयहरुलाई पारित गरेको थियो।NRN Uk 2016 060NRN Uk 2016 027