लण्डनबाट दाङको बाल शान्ति गृहलाई सहयोग

लण्डन । दाङ पर्सामा सन्चालित बाल शान्ति गृहको सहयोगार्थ लण्डनमा एक कार्यक्रम आयोजना गरिएको छ।

नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा. भरतराज श्रेष्ठको प्रमुख आतिथ्यमा स्टानमोर कम्युनिटी सेन्टरमा सन्चालित कार्यक्रममा बाल शान्ति गृहकालागि सहयोग संकलन गरिएको थियो। सो अवसरमा बोल्दै डा. श्रेष्ठले सेवा नै परम धर्म हो भन्नुहुँदै विदेशमा बसेर पनि नेपालीहरुले मातृभूमिको सेवा गरिरहेकोमा  त्यसको प्रशंसा गर्नुभयो। उहाँले आआफ्नो गाउँठाउँका लागि सक्दो सहयोग गर्न सबैलाई अपील पनि गर्नुभयो।

अर्का वक्ता एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएन युकेले हालसालै कविता संगोष्ठि, इनास, मिस नेपाल युके लगायतका कार्यक्रमहरु मार्फत कल्याणकारी कार्यक्रमहरुलाई सघाउँदै आएको बताउनुयो। उहाँले हामीले गरेको सानो सहयोगले नेपालमा कैयौं बालबालिकाको भविष्य उज्ज्वल हुनेभएकाले हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो। उहाँले ज्ञानको स्थानान्तर पनि च्यारिटी हो भन्नुहुँदै समाजको उत्थानमा आफुले सकेको सहयोग गर्न सबैलाई अनुरोध पनि गर्नुभयो।

कानुन व्यवसायी तथा समाजसेवी महेश दाहालले २५६२ औं बुद्ध जयन्तीको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा भगवान बुद्धको सन्देश सबैले मनन गर्नुपर्ने बताउनुभयो। उहाँले संसारमा दुख छ, दुखको कारण छ र त्यसबाट मुक्त हुने उपाय पनि छ भन्ने बुद्ध वचन आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले आफुले आफैलाई हेर्न, परिवारलाई माया गर्न र समाजलाई योगदान गर्न पनि आग्रह गर्नुभयो।

कार्यक्रमको शुरुमा हिमाल श्रेष्ठ र कार्यक्रमकी आयोजक माला गिरीले नेपालको राष्ट्रिय गान तथा बुद्ध जन्मे नेपालमा’  गाउनुभएको थियो। सो अवसरमा डकोरम बरो काउन्सिलका काउन्सिलर सागर सिलवालले मुक्तकहरु सुनाउनु भएको थियो। कार्यक्रम सन्चालक भगीरथ योगीले बेलायतमा बसेर पनि नेपालका बालबालिकाको पठनपाठनमा सघाउन आयोजित कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो।

मध्यपश्चिम नेपालका झण्डै ४० जना द्वन्द्वपीडित बालबालिकाकालागि आवास, भोजन तथा शिक्षादीक्षाको व्यवस्था गरिरहेको बाल शान्ति गृहको स्थापना तथा सन्चालन हिन्दु विद्यापीठ दाङका संस्थापक प्राचार्य भोलानाथ योगी तथा उहाँको परिवारले गर्दै आएको छ।