काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल हाम्रो हो र हामी नेपाली हौं भन्ने सबैले पृथ्वी नरायाण शाहलाई सम्झने बताएका छन्। २९३ पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले २४६ वर्षअघि सबै जात, वर्ग, धर्म, सम्प्रदाय र क्षेत्रका जनतालाई समेटेर पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माण गरेको उल्लेख गरेका छन्।
पृथ्वीनारायण शाहले नेपाली नेपालीबीचको एकता मजबुत पारी नेपाललाई राष्ट्रिय स्वरुप प्रदान गरेको भन्दै पूर्व राजाले भनेका छन्, ‘नेपाल हाम्रो हो र हामी नेपाली हौ भनेर गर्व गर्ने हिमाल, पहाड, तराईका तमाम सन्ततीले बडामहाराजधिराजलाई आजको दिनमा सम्झनै पर्दछ।’
थरिथरीको भौगोलिक आकार र सामाजिक प्रकारमा बाँडिएको नेपाली भूखण्डलाई एकीकृत पारेर सबल सून्दर राष्ट्रको संरचना गर्ने पृथ्वीनारायण वास्तवमै नेपालका आधार स्तम्भ र राष्ट्र संयोजक रहेको पूर्वराजाले बताएका छन्।






