दूधको मूल्य वृद्धिबारे कृषि मन्त्रीलाई स्पष्टीकरण सोधिने

व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिले अत्यावश्यक उपभोग्य वस्तु दूधको मूल्य वृद्धिबारे स्पष्टीकरण दिन कृषि मन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकमा सभासद्ले एकैपटक अत्यधिक रुपमा दूधको मूल्य वृद्धि गर्दा जनता महँगीको मारमा परेको धारणा राखेपछि कृषि मन्त्रीलाई बोलाउने निर्णय गरिएको समितिका सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लोपटक दूधमा प्रतिलिटर रु १० वृद्धि गरिएपनि सो रकम बिचौलियाका कारण कृषकले पनि नपाउने र उपभोक्ता पनि महँगीमा पर्ने भएपछि समितिमा यस विषयमा छलफल भएको हो ।

त्यसैगरी, बैठकमा सभासद्हरुले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन र मानव तस्कर भइरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि सरकारलाई ठोस निर्देशन दिन पनि माग गरेका थिए । रासस