लण्डन । इङल्याण्डमा एक नेपाली चेलीले फुटबल क्षेत्रमा विशेष अवार्डसहित सम्मानित हुँदै सम्भावनाको केन्द्र बन्न सफल भएकी छिन् ।
आस्टोन भिल्ला फुटबल क्लवमा आवद्ध नेपाली चेली अस्मिता आलेले यस सन् २०२०–२१ का लागि ‘प्लेयर अफ द सिजन’ अवार्ड जित्न सफल भएकी हुन् ।
महिलाहरु पनि कोही भन्दा कम छैनन् भन्ने अब्बल उदाहरण पेश गर्दै अस्मिताले उक्त सफलता हात पार्न सफल भएकी हुन् ।
आलेलाई उनको टीमले सबैभन्दा बढी भोट दिएर प्लेयर अफ द सिजन छानेको हो । उनीसितै अलिसा एनडाउ, अनिता आसान्ते, जीडी हटन र लिसा वेइब प्लेयर अफ द सिजनको दौडमा थिए । आले लेखिएको तीन नम्बरको जर्सी लाएर डिफेन्डरको भूमिकामा खेल्ने अस्मिता अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै मंगलबार प्लेयर अफ द सिजन भएकी हुन् ।
आठ वर्षको उमेरदेखि आस्टोन भिल्ला क्लवमा आवद्ध भएकी अस्मिताले १६ वर्षको उमेरमा सन् २०१७÷१८ देखि पहिलो टीममा खेल्न शुरु गरेकी थिइन् । सन् २०१९ देखि उनले महिला फुटबलको मुख्यटीमको सम्झौता पाएकी थिइन् । अहिले २० वर्षमा हिँड्दै गरेकी आलेले यसअघि इङल्याण्डको १९ वर्षमुनीको टीमबाट युरोपियन च्याम्पियनसीपमा पनि खेलेकी थिइन् ।
आस्टोन भिल्ला इङल्याण्डको महिला फुटबल लिगको माथिल्लो लिग बार्कलेज एफए सुपरलिगमा छ । यस सिजनका कुल २२ खेलमध्ये अस्मिताले १९ वटा खेल खेलेकी थिइन् जसमा १७ वटा खेलमा उनले शुरुवातदेखि खेलेकी थिइन् भने दुईवटामा मात्र अरुलाई बदली दिएकी थिइन् ।
पूर्व गोर्खा ब्याकग्राउण्डकी अस्मिता पूर्व गोरखा सैनिक अमृत आले र बसन्ती थापाकी सुपुत्री हुन् । नेपालको तनहुँ घर भएकी उनी अहिले आफ्ना आमा, बुबा र दाजुको साथ बेलायतको ननिटनमा बस्दै आएकी छन् ।
अस्मिताले फुटबल क्षेत्रमा देखाएको कौशलप्रति बेलायतबासी नेपालीहरुले हर्ष अनुभूति गर्दै उनले नेपाल र नेपालीको पहिचान उचो बनाउने आशा व्यक्त गरेका छन् । वीनेपालीबाट






