नेपाल र जापानबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेका अवसरमा अन्तर्राष्ट्रिय सरोकार केन्द्रद्वारा यहाँ आज आयोजित “नेपाल–जापान सम्बन्ध” विषयक अन्तक्र्रियामा उहाँले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बधलाई अगामी दिनमा अझ घनिष्ठ र प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले “नेपाल र जापानबीच स्थापित कूटनीतिक सम्बन्धले सफलतापूर्वक ६०औँ वर्ष पूरा गर्नु आफैँमा ऐतिहासिक हो बताउँदै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जापानले अहिलेसम्म महत्वपूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगको निरन्तरताको अपेक्षा गर्दछु” भन्नुभयो ।

सबै समुदायको अधिकारलाई सुनिश्चित हुने गरी संविधान जारी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनसँगै अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ आफ्नो पार्टी केन्द्रित भएको छ ।

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रको विकासका लागि जापान तयार रहेको बताउनुभयो ।

सरोकार केन्द्रका अध्यक्ष डा अन्जना शाक्यले नेपाल र जापानबीचको बहुआयामिक सम्बन्धबारे प्रकाश पार्दै नेपालको पर्यटन क्षेत्रको बिकासमा पनि जापानी सहयोगको खाँचो रहेको बताउनुभयो ।