काठमाडौँ- नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेसी जनताको मागलाई मधेसीका मागका रुपमा मात्र हेर्न नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल मधेस मामिला समन्वय विभागले यहाँ आज आयोजना गरेको मधेसका सवाल र समाधानका उपाय’विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो,– “राष्ट्रले लिएको नीति र संविधानको मूल मर्मका आधारमा मधेसको विकास गर्नुपर्छ, त्यहाँको शोषण र दमन अन्त्य गर्नुपर्छ” ।
नेता नेपालले “एमालेलाई मधेस विरोधी भनेर आरोप लगाउनुमा कुनै सत्यता छैन” भन्दै मधेसी जनताको मुक्तिका निम्ति सबै मधेसी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
अनेकतामा एकता भएको देशमा सबै नेपालीको भावना र विचारलाई कदर गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “नेपालीसंग विदेशी नागरिकले विवाह गर्नेबित्तिकै नागरिकता पाउन सकिन्छ तर मुलुकको हितका दागि अङ्गीकृत नागरिकले राज्यको संवैधानिक प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन र यो मधेसीको माग पनि होइन ।”
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या राष्ट्रकै समस्या भएकाले सबैले लचिलो भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियताको मुद्दामा नझुकी अरु कुरामा सहमतिका साथ अगाडि बढ्नुपर्ने भन्दै उहाँले मधेसको समस्या निराकरण गर्न सबै दलले ध्यान दिनुपर्ने बताउनुभयो ।






