काठमाडौं- लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले विभिन्न मन्त्रालय र निकायमा रिक्त १६ सचिवमा बढुवाका लागि ४२ सहसचिवको नाम सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले रिक्त १६ मध्ये वरिष्ठताका आधारमा ३ र बाँकी १३ पदका लागि तेब्बर अर्थात् ३९ जनाको नाम सिफारिस गरेको हो।
लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमीका अनुसार वरिष्ठताका आधारमा बढुवाका लागि सहसचिव सुरेशप्रकाश आचार्य, शरदराज विष्ट र गजेन्द्र ठाकुर सिफारिस भएका छन्। मन्त्रिपरिषदले उनीहरूलाई स्वत सचिवमा बढुवा गर्नेछ। निजामती सेवा ऐनअनुसार रिक्त सचिव पदमध्ये २० प्रतिशत वरिष्ठताको आधारमा बढुवा गर्नुपर्ने प्रावधान छ।
बाँकी १३ पदका लागि केदारबहादुर अधिकारी, राजन खनाल, दिनेशकुमार थपलिया, सुनीलकुमार मल्ल, लक्ष्मणप्रसाद मैनाली, कमलशाली घिमिरे, रामकुमार आचार्य, शिवकुमार शर्मा, चन्द्र घिमिरे, टेकप्रसाद ढुंगाना, विजयकुमार मल्लिक, रमेशकुमार शर्मा, शंकर कोइराला सिफारिस भएका छन्। यस्तै, खुमराज पुन्जाली, नवराज भण्डारी, राजेन्द्रप्रसाद नेपाल, ईश्वरीप्रसाद पौडेल, शशिशेखर श्रेष्ठ, जयदेव श्रेष्ठ, टंकमणि शर्मा, प्रेमकुमार राई, श्रीधर सापकोटा, नहकुल सुवेदी, यादव घिमिरे, धीरबहादुर चन्द, टेकनाथ ढुंगाना, रामकुमार आचार्य, सुरेश प्रधान, महेश दाहाल, नातिबाबु लामिछानेलगायत पनि बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले सम्भाव्य उम्मेदवारमध्येबाट रिक्त पदको तेब्बर संख्यामा कार्यसम्पादन मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई सिफारिस गर्ने व्यवस्था छ। सिफारिसमा परेका सहसचिवमध्येबाट मन्त्रिपरिषद बैठकले उपयुक्त उम्मेदवार ठहर गरी बढुवा गर्न सक्ने प्रावधान छ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सिफारिस भएका नाम छिट्टै मन्त्रिपरिषदमा पेस गरी निर्णय गरिने जानकारी दिए। ‘बढुवा सिफारिस समितिबाट औपचारिक रूपमा नाम आएपछि अब बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव जान्छ,’ मन्त्री पण्डितले नागरिकसँग भने ‘सचिव रिक्तता जतिसक्दो छिटो हट्छ।’
निजामती सेवा ऐनअनुसार हरेक वर्ष पुस र साउनमा गरी दुईपटक सचिव बढुवा गर्ने प्रचलन छ। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई सचिव पद रिक्त छन्। परराष्ट्र, रक्षा, शान्ति तथा पुनर्निर्माण र सूचना तथा सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, जल तथा ऊर्जा आयोग, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल , सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालयका दुई सचिव र सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय बाहेक अन्य निकायमा कामुको जिम्मेवारी दिइएको छ। तर, परराष्ट्रमा आन्तरिक रूपमै सचिव बढुवा गर्ने भनिए पनि योग्य उम्मेदवार नभेटिएपछि गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रका हालकै सचिव शंकर बैरागीलाई कायम राख्ने गरी विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो। परराष्ट्रकै कामु सचिव बैरागीलाई सचिव बनाउनका लागि अध्यादेश प्रस्ताव गरिए पनि विरोधका कारण अध्यादेश मन्त्रिपरिषदबाटै फिर्ता भएको थियो।
१६ सचिवका लागि ४२ जनाको नाम सिफारिस






