बंगलादेशमा ७ जनाको जलेर मृत्यु

बंगलादेशको पूर्वी चौडाग्रामनजिक एक बसमा पेट्रोल बम प्रहार गरिएपद्धि कम्तीमा ७ जनाको जलेर मृत्यु भएको छ । घटनामा घाइते भएका १५ मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणको समयमा यात्रुहरु निदाइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
बंगालादेशमा गत महिनायता विपक्षीको सरकार विरोधी आन्दोलन चर्किरहेका बेला सवारी–साधनमाथिको आक्रमण बढ्दो छ । बंगालादेश नेसनलिष्ट पार्टीकी नेतृ एवं पूर्वप्रधानमन्त्री खालिदा जियाले गत वर्षको विवादास्पद चुनावको एक वर्ष पुगेको अवसरमा आन्दोलनमा उत्रन समर्थकहरुलाई आह्वान गरेकी थिइन् ।
तर, बंगलादेश नेसनलिष्ट पार्टी र उसको इस्लामिक गठबन्धनले भने सवारी–साधनमाथिका आक्रमणहरुमा आफूहरुको संलग्नतालाई अस्वीकार गर्दै आएको छ । बंगालादेशमा विपक्षीको पछिल्लो आन्दोलन सुरु भएयता ७ हजार विपक्षी कार्यकर्ता पक्राउ परेका छन् भने विपक्षी नेतृ खालिदा जिया आफ्नै निवासमा नजरबन्दमा छन् ।