भरत पाण्डेय
काठमाडौं
सरकारले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमका लागि चार गुणा बढी आवेदन परेको छ। युवालाई व्यावसायिक कृषिमा केन्द्रित गरी कृषि उत्पादन बढाउन र स्वरोज बनाउन सञ्चालन गरेको अनुदान कार्यक्रमका लागि देशभरबाट माग गरेभन्दा चार गुणा बढीले अनुदान माग भएका हो।
चालू आर्थिक वर्षमा तरकारी खेतीका लागि ४ हजार १ सय १० जनाबाट आवेदन माग गरिएकोमा १९ हजार ८ सय ५९ जनाले आवेदन दिएको कृषि विकास मन्त्रालयले जनाएको छ। त्यसैगरी च्याउखेतीका लागि २ हजार माग गरिएकोमा ५ हजार ५ सय ४०, मत्स्यपालनमा २ सय जना युवा किसानबाट आवेदन मागिएकोमा १ हजार १ सय जना र रानी जमारा कुलेरिया सिँचाइ आयोजनामार्फत् १ सय ५० जनाको लागि ५ सय युवाले अनुदान माग गर्दै आवेदन दिएका छन्।
मन्त्रालयका अनुसार युवालाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्न प्रविधि, तालिम तथा बीउ पुँजीसहितको व्यावसायिक तरकारी खेती, मत्स्यपालन, मौरीपालन, च्याउ खेती, बंगुरपालन, विशेष पशु उत्पादन (डेरी) तथा बाख्रा प्रवद्र्धन कार्यक्रमका लागि देशभरबाट आवेदन माग गरिएको थियो।‘सबै कार्यक्रमका लागि ८ हजार बढी युवालाई व्यावसायिक कृषिमा लाग्न अनुदान दिने कार्यक्रम हो।’ कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भन्नुभयो –‘तर हामीले सोचेभन्दा चार गुणा बढीले अनुदान माग गर्नुभएको छ।’
तरकारी खेतीका लागि देशका ७५ वटै जिल्लामा, सिँचाइ तथा जल संशोधन परियोजना (आईडब्लुआरएमपी) अन्तर्गत ४४ जिल्लामा, च्याउका लागि ३० जिल्लामा र मौरीपालनका लागि ३५ जिल्लामा र मत्स्यपालनका लागि ५० वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा युवाको अत्यधिक माग र चासो देखिएकाले कार्यविधि प्रक्रिया कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको मन्त्रालयको भनाइ छ। धेरै आवेदन परेकै कारण छनोटका लागि सोचेभन्दा बढी समय लागेकाले पनि उहाँको भनाइ छ। तर, चालू आर्थिक वर्षको लागि भने बजेट विनियोजन भईसकेकाले कार्यक्रम थप गर्न कठिनाई हुने उहाँले बताउनुभयो।‘तत्कालको लागि अर्थले बजेट थप्नेतिर छैन’ उहाँले भन्नुभयो–‘तर यो वर्षको माग अत्याधिक भएकाले आगामी वर्षको लागि कसरी कार्यक्रम बनाउने भन्नेतिर हामीहरू केन्द्रित छौं।’ पैसा लिने बेलामा देखिएको उत्साह कार्यान्वयनमा पनि देखिएमा र कार्यक्रम उपलब्धिपूर्ण भएमा आगामी वर्ष कार्यक्रम थपिने मन्त्रालयले जनाएको छ।
देशको कूल गार्हस्थ उत्पादनको एक तिहाईभन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुई तिहाईभन्दा बढी जनसंख्या रोजगारी तथा जीविकोपार्जनका लागि यस क्षेत्रमा निर्भर रहेको मन्त्रालयले जनाएको छ। नेपालमा प्रत्येक वर्ष करिब ४ लाख ५० हजार जति युवाको रोजगार बजारमा प्रवेश हुने तथ्यांक छ। तर, देशभित्रै रोजगारीका अवसरको सिर्जना हुन नसक्दा वर्षेनी उल्लेख्य संख्यामा युवा रोजगारीको लागि विदेश पलायन भइरहेको भन्दै सरकारले आव २०७०⁄७१ को बजेट वक्तव्यमार्फत् युवा लक्षित कृषि कार्यक्रम शुरू गरेको हो।
यो वर्ष मौरीपालनमा १ हजार, च्याउ खेतीमा २ हजार, तरकारी खेतीमा ४ हजार १ सय ८०, पशुपंक्षी बजारमा ५०, डेरीमा ४ सय ७२, बाखापालनमा १ सय ६०, माछापालनमा २ सय र बंगुरपालनमा ९२ जना किसानलाई यो कार्यक्रमबाट अनुदान दिएको मन्त्रालयले जनाएको छ। तरकारी खेतीका अहिलेसम्म १६ जिल्लामा ९ सय २० युवालाई छनोट गरी काम शुरू भएको छ। (आईडब्लुआरएमपी) का ९ जिल्लामा कार्यक्रम शुरू भई २५ जिल्लामा प्रस्तावना छनोट हुने क्रममा रहेको मन्त्रालयले जनाएका छ।
त्यसैगरी मौरीपालनका लागि ३५ जिल्लामध्ये सुर्खेत, बाँके र बर्दियामा कार्यक्रम शुरू भइसकेको छ भने बाँकीमा प्रस्ताव छनोटको चरणमा छ। मत्स्यपालनका लागि ५० वटै जिल्लामा प्रस्ताव छनोट भइरहेको मन्त्रालयले जनाएको छ।
युवा लक्षित कृषि कार्यक्रममा चार गुणा बढी आवेदन






