बारा, २९ फागुन । बालिकालाई बलात्कार गरी मृत्युबरण गर्न बाध्य बनाउनेलाई कडा कारवाहीको माग राखेर बारामा थालिएको प्रदर्शन जारी छ । बेटी बचाउ संघर्ष समिति लगायत बिभिन्न संघ संस्था सहभागीतामा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । सदरमुकाम कलैयामा बालिकाको शव सडकमा राखेर प्रदर्शन भइरहेको छ ।
त्यसैगरी जितपुर, अमलेखगञ्ज, सिमरा, निजगढ लगायतका स्थानमा पनि प्रदर्शन भएको छ । कलैया नगर क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुपर्ने, पीडित परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, बलात्कार गर्नेलाई फाँसीको सजायको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको हो ।
उनीहरुले सदरमुकाम कलैयाबाट छुट्ने र भित्रने गाडीहरु संचालनमा रोक लगाएका छन् । गत फागुन ८ गते सांझ बेपत्ता भएकी सात वर्षिया बालिका पूजा ९ गते बिहान मकसुद अंसारीको घर पछाडिको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । दुइ साता लामो उपचारपछि उनको गत आइतबार काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो । बालिका बलात्कार गर्ने कलैया नगरपालिका ४ का कन्हाई गुप्ता हिरासतमा छन् ।
बेटी बचाउ आन्दोलन झनै चर्कियो






