काठमाडौँ- अपाङ्गता भएका व्यक्तिको विश्व परिषद् (डिपिआई) को विश्व कार्यसमिति सदस्यमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदी निर्वाचित हुनुभएको छ ।
भारतको नयाँदिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय अपाङ्ग जनपरिषदको एसिया–प्यासिफिकको सम्मेलनले सुवेदीलाई चयन गरेको हो । भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स र अफगानिस्तानलगायत देशका प्रतिनिधि सहभागी सम्मेलनले आज सुवेदीलाई सो सदस्यमा चयन गरेको हो ।
अन्तर्राष्ट्रियस्तरमा नेपालका तर्फबाट भएको यो प्रतिनिधित्व नेपालका करिब ३० लाखभन्दा बढी अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानको विषय भएको महासङ्घका महासचिव राजु बस्नेतले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका पूर्व अध्यक्ष जगदीश्वरप्रसाद अधिकारीले सुवेदीको चयनले मानवअधिकार र अपाङ्गता क्षेत्रमा उहाँले गरेको योगदानको स्मरण भएको बताउनुभयो ।






