काठमाडौँ, १६ चैत । सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा (माओवादी) नेतृत्वमा रहेको तीसदलीय मोर्चाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ घेराउ गरेको छ । मोर्चाको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय बबरमहलमा घेराउ गरिएको जनाइएको छ । विगतमा दलहरुबीच भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गरी सबै पक्षले स्वीकार गर्ने संविधान जारी गर्नुपर्ने, संविधान निर्माण प्रक्रियालाई बहुमत र अल्पमतको खेल बनाउन नहुने मागसहित प्रशासन कार्यालय घेराउ गरिएको एमाओवादीका नेता झक्कुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
घेराउका क्रममा महिला हिंसाका घटनामा वृद्धि भएको र त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको, चिकित्सा क्षेत्रको सुधारको माग राखी विगत आठ दिनदेखि आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको माग सुनुवाई नगरेको, जनताको दैनिक जीवनसँग जोडिएका विषयमा सरकार गम्भीर नभएको आदी आरोप मोर्चाले लगाएको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मुलुकभरका प्रशासन कार्यालय घेराउ गरिएको र मुलुकभर नै कार्यक्रम गरिएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
संविधान निर्माण प्रक्रिया सहमतिको आधारमा मात्रै अगाडि बढाउनुपर्ने, बहुमतको आधारमा अगाडि बढाइने प्रक्रियाले द्वन्द्वको व्यवस्थापन नगर्ने बरु बढाउने भएकाले सत्तारुढ दललाई सचेत गराउन धर्ना दिइएको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको भनाइ थियो ।
आइतबार मात्रै एमाओवादी नेतृत्वको मोर्चाले मुलुकभर प्रदर्शन गरेको थियो । यसैबीच, भावी कार्यक्रम तय गर्न मोर्चाको आजै बैठक बस्ने जनाइएको छ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सत्तारुढ दलले सहमतिको प्रक्रियालाई लत्याएर बहुमतीय प्रक्रिया सुरु गर्न पुनः संविधानसभाको बैठक बोलाइएकाले आन्दोलनका कार्यक्रम सशक्त पार्न बैठक बोलाइएको जानकारी दिनुभयो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गते अपराह्न १ बजेका लागि संविधानसभाको बैठक बोलाउनुभएको छ ।
एमाओवादी मोर्चाको जिप्रका घेराउ






