राजेन्द्रजीले भनेका सबै कुरा मान्ने भए हाम्रो पार्टी नै रहँदैन्थ्यो: ज्ञवाली

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सम्भव भएसम्म सहमतिको प्रयास जारी राख्ने नभए प्रक्रियामा जाने उद्घोष गरे । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अहिलेको अवस्थामा संविधानका विवादित विषयमा शतप्रतिशत सहमति कायम गर्ने अवस्था नभएको भन्दै सकेसम्म अधिकतम सहमतिको प्रयास गर्ने नभए बहुमतीय प्रणाली अनुसार संविधान जारी गर्ने बताए ।

उनले संघीयतावाहेक प्रायः अन्य विषयमा त्यति गम्भीर मतभेद नरहेको भन्दै संघीयतामा आफ्नो पार्टी कुनै पनि हालतमा मधेश र पहाड अलग्याउने पक्षमा नरहेको स्पष्ट पारे ।

सबै राजनीतिक दलका लागि अहिलेको समय किम्ति भएको भन्दै प्रमुख राजनीतिक दलहरु गम्भिर नभए मुलुकमा दक्षिणपन्थी अतिवाद र उग्रवामपन्थी अतिवाद हावी हुने खतरा समेत ज्ञवालीले आँैल्याए ।

पहिचान पक्षधरले सुरु गरेको आन्दोलनको कुनै तुक नभएको भन्दै आन्दोलन सफल नहुने समेत उनले दाबी गरे ।

फरक प्रसंगमा नेता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली र सद्भावना अध्यक्ष राजेन्द्र महतोवीचको वाकयुद्धलाई लिएर अलोकतान्त्रिक कुरा महतोले गरेको दाबी गर्दै आफ्नो अध्यक्षले कुनै पनि हालतमा माफी नमाग्ने बताए ।

उनले भने–‘राजेन्द्रजीले भनेका सबै कुरा मान्ने भए त हाम्रो पार्टी नै रहँदैन्थ्यो नि त, त्यसैले यस्ता हावादारी कुरा गर्नुको कुनै तुक छैन ।’ सम्म भू–भागमा किन उहाँहरुको त्यस्तो मोह भएको भन्दै नेता ज्ञवालीले प्रश्नसमेत गरे ।