लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली पाठशाला सञ्चालनमा आए सँगै बालबालिकाहरु नेपाली पढ्न उत्सुक देखिएका छन् । नेपाली पढाइने पाठशाला संचालनमा आएपछि प्रवासमा बसोबास गरिरहेका नेपालीका बालबालिकाले नेपाली भाषा पढ्न पाउने भएका हुन ।
नयाँ पिढीलाई नेपाली भाषाको जानकारी दिने र प्राथमिक विद्यालयदेखि नै नेपाली भाषाको अध्ययन गराउने प्रमुख उदेश्यले यसप्रकारको नेपाली विद्यालय स्थापना गरिएको स्कटल्याण्डवाट विजय डंगोलले जानकारी गराए । सन् २०१६ को जुलाइ देखि संचालनमा आएको नेपाली पाठशालामा नेपाली भाषाको अध्यापनको अलावा नेपाली नृत्य र संस्कृतिको बारेमा पर्याप्त जानकारी दिने कार्य हुंदैआएको छ।
स्कटल्याण्डको एडिनबर्गमा बसोबास गर्दैआएका सफल नेपाली व्यवसायी तथा समाज–सेवी गोविन्दराम कंडेलको अगुवाईमा नेपाली पाठशालाको स्थापना भएको हो। नेपाली पाठशालाको स्थापना यता नेपाली अध्ययन गराउन चाहने नेपाली अभिभावकहरुको संख्यामा दिनानुदिन बृद्धि हुनथालेको पाठशालाले जनाएको छ। ७ देखि १२ बर्ष उमेर समूहका २५ जना बालबालिकाहरुले नेपाली पाठशालामा नेपाली भाषा अध्ययनरत रहेका छन्। स्थानिय काउन्सिल हल भाडामा लिएर कक्षा संचालन गरिदै आएको जानकारी संस्थापक गोविन्दराम कंडेलले भनेका छन्।
स्कटल्याण्डमा नै रहेका नेपाली नृत्यका ख्यातिप्राप्त नृत्य निर्देशक चरण प्रधानले पनि यस विद्यालयमा नेपाली नृत्यको अध्यापन गराउंदै छन्। नेपाली भाषाको अध्ययनको अलावा नेपाली नृत्य पनि सिक्न पाउंदा विद्यार्थीहरुमा थप उत्साह मिल्न थालेको छ। यसले गर्दा पनि नेपाली भाषा र नृत्य सिकाउन यस विद्यालयतिर नेपाली अभिभावकहरुको दिनानुदिन आकर्षण बढन थालेको पाइएको छ।
मातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएकाले नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाई बन्चित गराउन नहुने भन्दै सरोकारवालाले जोड दिर्दै आएका छन् । बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाई चटक्क बिर्सेको भन्दै चिन्ता ब्यक्त गरिन थालीएको छ ।






