माओवादी एकता भएमा सरकारबाट बाहिरिन्छु : अध्यक्ष दाहाल

prachanda-1काठमाडौँ- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच तत्काल पार्टी एकता हुने भएमा तत्काल सरकारबाट बाहिरिने बताउनुभएको छ ।

“दुई माओवादी एकता हुने हो भने सरकार छोड्नु मेरा लागि कुनै ठूलो कुरा होइन, केही समयअघि झन्डै छाडेको थिएँ, सरकार छोड्नु कुनै आइतबारको कुरा होइन”– उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकता हुनका लागि सरकार बाधक हुने भए आफैंले तत्काल सरकार छोड्न तयार रहेको तर उहाँको मुद्दा सरकारको होइन विचारको मुद्दा भएको बताउनुभयो ।

पाँच दलीय संयुक्त समितिले आज यहाँ आयोजना गरेको ‘बृहत् शान्ति सम्झौता र युद्धकालीन मुद्दा’ विषयक अन्तक्र्रियामा उहाँले माओवादीको एकता जरुरी भएको र त्यसका लागि आफू सदा तयार छु भन्नुभयो ।

अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको विपरीत युद्धकालीन मुद्दालाई उठाइन्छ र अदालतको नियमित प्रक्रियाभित्र लगिन्छ भने सबैभन्दा पहिला आफूलाई जेल हाल्न चुनौती दिनुभयो ।