एनआरएनए आईसीसी उपाध्यक्ष पदमा अस्ट्रेलियाबाट धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारीले आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्षका प्रत्यासी अधिकारीले हिजो बिहीबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने विश्व सम्मेलनले एनआरएनमा नयाँ नेतृत्व छनोट गर्नेछ । एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक अधिकारी तीन दशकदेखि अस्ट्रेलियामा व्यवसायिक जीवन र सामुदायिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्किल, नलेज एन्ड इनोभसनसहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको पत्रकार सम्मेलनमा अधिकारीले सुनाए ।

पत्रकार सम्मेलनमा अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै योजना बिना अघ बढ्ने व्यक्ति म होइन, अहिलेसम्म मैले जे जति गरेको छु, सबै साथीभाइलाई समेटेर सबैको सहकार्यमा अघि बढ्ने मेरो पहिलो प्राथमिकता हुनेछ । एकतामा नै बल हुन्छ, त्यसले नै एनआरएन अभयानलाई अघि लैजान्छ भन्ने कुरामा म ढुक्क छु । यसले म लहडमा उम्मेदवार बनेको नभई एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको विश्वास दिलाउन चाहन्छु ।’

उपाध्यक्षका उम्मेदवार अधिकारीले विज्ञप्तिमा भनेका छन् ‘मातृभूमिको सेवाबाट मात्र हामो मनमा पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकाण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सिप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं ।’ ‘हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं, ताकि नेपालले सम्वृद्धिको यात्रालाई अझ मजबुत बनाउन सकोस् । हामी विदेशी मित्रहरुलाई नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन चाहन्छौं, शान्तिदूत बुद्धभूमिमा लैजान चाहन्छौं’, उपाध्यक्षका प्रत्यासी अधिकारीले विज्ञप्तिमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *