लन्डनको नेपाली मेला उद्घाटन गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आउदै

लन्डन ।तमु धिं यूकेको आयोजनामा आउंदो आइतबार (२५ अगस्त) नेपाली मेला हुने भएको छ । बेलायतको वृहत नेपाली मेला लाई उद्घाटन गर्न गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथीका रुपमा शुक्रबार साँझ हिथ्रो विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । नेता पृथ्वी सुब्बा गुरुङ एमाले प्रदेशसभा संसदीय दल प्रदेश ४ को मुख्यमन्त्री हुन् । उनी शुक्रबार साँझ हिथ्रो विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको सल्लाहकार एकेन्द्र गुरुङ एबम डेविड गुरुङले जानकारी दिए। ।

अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुङले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताए । केम्पटन पार्क रेस कोर्समा हुने ११ औं नेपाली मेलाको भब्य तयारी भएको आयोजक तमुधिं यूकेअध्यक्ष नन्दजंग गुरुङले बताए ।

नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइदिन लन्डनस्थित तमुधिं यूकेले आव्हान गरेको छ । ११ औं नेपाली मेलामा बेलायतवासी झण्डै दश हजार नेपाली आउने अपेक्षा गरिएको छ । मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुङले जानकारी दिए ।

मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड दिइनेछ । ‘राफल ड्र’ मा नेपाल रिटर्न टिकेट र एक तोला सुन राखिएको छ ।

तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ ।मेलामा वयस्कका लागि प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि तीन पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको छ । मेलामा सुरक्षा र स्वास्थ्य सेवाको बिशेष प्रवन्ध गरिएको आयोजकले जनाएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *