एनआरएन युकेको महासचिव ताकेका नारायण गाउँले के घटुवा भएकै हुन् त ?

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि गत आइतबार उम्मेदवारी मनोनयन भएको छ । चुनाव आउनु महिनौ अघि देखि फेसबुक र अनलाइन समाचारबाट आफु महासचिवको उम्मेदवार बन्छु भनेर लेखेका एनआरएनए यूके सचिव भइसकेका नारायण पौडेल गाउंले यो पटक तल झरेर इंग्ल्याण्ड राज्य समितिको सचिवमा फेरि उठेका छन् ।

के घटुवा भएकै हुन् त नारायण गाउँले ? ” गाउँलेले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् हेर्नुहोस यस्तो रहेछ कारण  !!

मैले एनआरएनए, युकेको आसन्न महाधिवेशनमा महासचिब पदमा इच्छा जाहेर गरेको थिएँ । तर धेरैको सुझाब र चुनाबको रणनैतिक समीक्षापछि इङ्ल्याण्ड राज्य समितिको सचिबमा उम्मेदवारी दिएको छु । मैले एनसिसी युकेमा सचिबको रूपमा भूमिका निभाइसकेको छु । धेरैले एनसिसी सचिब भइसकेको व्यक्ति किन राज्य सचिबमा उठेको भन्ने जिज्ञासा राख्नुभएको छ । म उहाँहरूको चासो र सद्भावप्रति ऋणी छु । वैयक्तिक चाह, आत्मविश्वास र इच्छामात्रै सधैँ निर्णायक नहुने रहेछ । वस्तुस्थितिको विश्लेषण र शुभचिन्तकको सल्लाहले गर्दा पनि म एक कार्यकालको लागि सचिबमैं रहने निचोड़मा पुगेको हुँ । तर हचुवाको भरमा मैले राज्य सचिबमा उम्मेदवारी दिएको भने होइन । बुँदागत रूपमा मेरो उम्मेदवारीलाई यसरी बुझिदिनुहोला,।

१-म सचिब थिएँ । तीन जना सचिब, एक उपमहासचिब र त्यसमाथि महासचिब भएकाले कहिलेकाहीँ ‘माइन्युट’ लेख्नेबाहेक अन्य सचिब-स्तरीय भूमिका थिएन । कार्यसमितिमा हुनुको नाताले हुने अन्य जिम्मेबारी भने मैले निभाउँदै आएको थिएँ । अहिलेको सचिब पद ‘कार्यकारी’ पद भएकाले मेरो रुचि र क्षमताका निम्ति यो उपयुक्त लागेको हो । राज्यसमितिमा महासचिब पद छैन ।

२-इङ्ल्याण्ड राज्य समिति पहिलोपल्ट बन्दै गरेको समिति हो । युकेको कुल १४ हजार मतमध्ये झन्डै १३ हजार त यही राज्य समितिको मत भएकाले संस्थापक सचिबका रूपमा यसलाई सबल र सफल बनाउनु महत्त्वपूर्ण जिम्मेबारी हो भन्ने मैले ठानेको छु । अघिल्लो अधिवेशनमा सदस्य सङ्ख्या जम्मा पाँच हजार थियो । अहिलेको प्रतिनिधित्व १३ हजारको हो र यो विश्वका अन्य एनसिसी भन्दा अझै पनि ठूलो हो ।

३-राज्य समिति नाममात्रको हुनुहुन्न र संस्थाका साधनस्रोत र दायित्वहरूको समानुपातिक वितरण हुनुपर्छ भन्ने मेरो मान्यता हो र यसका निम्ति सङ्घर्षशील र अनुभवी व्यक्ति यसको सचिबालयमा हुनु लाभदायक हुन्छ भन्ने मेरो विश्वास छ । अहिलेको विधानले सीमित अधिकारमात्रै दिने भएकाले राज्य समितिलाई काम गर्न सक्ने बनाउन धेरै सङ्घर्ष आवश्यक छ भन्ने मेरो ठम्याइ छ ।

४-समाजसेवामा बढुवा या घटुवा भन्ने हुँदैन । यो राजनैतिक या लाभको पद नभएकाले आफूलाई काम गर्न सजिलो लाग्ने पद नै सबैभन्दा उपयुक्त पद हो भन्ने मेरो ठम्याइ हो । यसर्थ म एनसीसी सचिबबाट राज्यसचिबमा जाँदै गर्दा घटुवा भएको भन्ने आरोप सही होइन ।

५-सल्लाहकार भन्दै दुईचार सय मान्छे खर्चिलो होटलमा जम्मा गरेर खादा लगाउनु, नेपालबाट वडाध्यक्ष आउँदा समेत अन्तर्क्रियाका नाममा दोहोरो नागरिकताको भाषण गर्नु, प्रशासनिक खर्चमैं खाता रित्याउनुजस्ता अनुत्पादक क़ुरालाई मैले विरोध गर्ने र सहभागिता नजनाउने गरेको हुँ । यसैलाई लिएर ‘काम नगर्ने’ व्यक्तिको नकारात्मक छवि निर्माण गर्ने प्रयास तोड्न पनि म कार्यकारी भूमिकामा जान चाहेको हुँ । मैले भाषा तथा साहित्य विभागको जिम्मेबारी लिएको थिएँ र साधनस्रोतको अभावमा समेत पहिलोपल्ट ‘लण्डन गजलसाँझ’ हामीले सम्पन्न गरेका थियौं । म मेरो उम्मेद्वारीलाई सकारात्मक रूपमा लिएर समर्थन गरिदिनुहुन समस्त इङ्ल्याण्डवासी एनआरएन समुदायमा अपील गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *