मिस र मिसेज युके नेपालमा भाग लिने म्याद थपियाे

image

लण्डन । पांचौ मिस यूके नेपाल तथा पहिलो मिसेस यूके नेपाल प्रतियोगिताको लागि आवेदन दिने म्याद मे २० तारिखसम्मलाई सारिएको छ ।

शनिबार सम्पन्न अडिसनमा दुवै विधाका लागि पर्याप्त प्रतियोगी नआएपछि आवेदन दिने म्याद बढाइएको आयोजक इभेन्टस एण्ड आईडियाजकी निर्देशक शान्ति गुरुंगले बताइन ।

फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सम्पन्न अडिसनमा मिस यूके नेपालको लागि ६ र मिसेस यूकेको लागि २ जना प्रतियोगी मात्रै आए ।

मिस यूके नेपालको लागि १९ वर्षीया अलिसा गौचन, २१ वर्षीया अलिसा लिम्बु, २० वर्षीया टेनिसा राना, २४ वर्षीया आरती गुरुङ, २२ वर्षीया प्रशंसा लिम्बु र १९ वर्षीया सुसन राईले अडिसन दिएका छन भने मिसेज युके नेपालका लागि २९ वर्षीया कृष्टि थापा पुन र २५ वर्षीया पुनम गुरुङले अडिसन दिए ।

आयोजक गुरुंगका अनुसार मिस यूके नेपालमा थप एक प्रतियोगीले आवेदन दिने पक्कापक्की नै भएकाले कुल प्रतियोगी संख्या कम्तीमा पनि ७ हुनेछ ।

‘त्यसैले यो वर्ष मिस यूके नेपाल प्रतियोगिता त सञ्चालन हुन्छ नै,’ गुरुंगले थपिन, ‘मिसेस यूकेतर्फ पनि आवश्यक प्रतियोगी आउंछन कि भन्ने मलाई आशा छ ।’

सन् २०१० देखि सुरु भएको मिस यूके नेपाल प्रतियोगी संख्या अपुग भएकै कारण सन २०१३ र २०१५ मा स्थगित भएको थियो ।

यस वर्षको मिस यूके नेपालको फिनाले अगस्ट २१ तारिखमा अल्डरसटको एम्यार हलमा हुंदैछ । प्रतियोगीहरुलाई प्रशिक्षण सेसन अगस्ट ८ तारिखबाट सुरु हुनेछ । मिस यूके नेपालका प्रतियोगीहरुलाई यसपटक नायिका तथा पूर्व मिस टिन नेपाल प्रियंका कार्कीले प्रशिक्षण गराउनेछिन ।

मिस यूके नेपालकी विजेताले ८ सय तथा फस्र्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ५ सय र ३ सय पाउण्डको नगद पुरस्कार पाउनेछन ।

(तस्बिरमा प्रतियोगीहरु, तस्बिर सौजन्य मिलन तमु)