लण्डन । गुल्मी जिल्ला समाज युकेले गृह जिल्लाका आगलागीपीडितलाई सघाउन बेलायतमा सहयोग संकलन अभियान चलाएका छन्।
बेलायतको अल्डरशटमा आईतबार सम्पन्न समाजको पाँचौ अधिवेशनको आकस्मिक बैठकले अग्निपीडितलाई राहत सहयोग गर्ने निर्णय गरेको हो। संस्थाका नव निर्वाचित अध्यक्ष राम गलामीले एक अपिल जारी गर्दै यो अभियानमा सघाउन बेलायतवासी नेपालीमा अपिल गरेका छन्।
गुल्मी जिल्ला समाजले सुरु गरेको अभियानमा तीन दिनभित्रमै झण्डै ८ लाख रुपिया बराबरको सहयोग रकमका लागि प्रतिबद्धता आइसकेको छ ।
‘दैवी विपदमा परेका नेपालीको सहयोगार्थ यो अभियानमा सहयोग गर्नुहुन गुल्मी जिल्ला समाज युके बेलायतमा रहेका संघ संस्था तथा व्यक्ति व्यावसायप्रति हार्दिक अपिल गर्दछ,’ अपिलमा भनिएको छ।
सहयोग संकलनको संयोजन उपाध्यक्ष राजन खरेल र सदस्य मुना सापकोटा खरेलले गरेका छन ।
अभियान संगै बेलायतवासी नेपालीहरुले उल्लेख्य रकमको सहयोग जम्मा गरिसकेको समितिले जनाएको छ। संकलित रकम फिल्डमा कार्यरत संघ संस्था तथा प्रशासन संयन्त्रको समन्वयमा छिट्टै पीडित क्षेत्रमा परिचालन गरिने छ।
नेपालको गुल्मी जिल्लाको विभिन्न जंगलमा लागेको डढेलोले बडागाउँ लगायतका वस्तीमा फैलिँदा एक जनाको मृत्यु हुनुका साथै सयौं घर जलेर नष्ट भएका छन्।
पशु चौपायासहित सम्पत्ति जलेर ध्वस्त भएपछि उक्त क्षेत्रका हजारौ बासिन्दा खुला चौरमा विस्थापित भएका छन्।
सहयोग गर्न चाहनेहरुका लागि समाजको खाता निम्नानुसार छ । GULMI ZILLA SAMAJ UK A/c no.- 21511777 s. code- 40-35-45







![Gulmi-Samaj-Uk[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/Gulmi-Samaj-Uk1.jpg)