लोकगीतमा चम्कंदै सन्तोष

image

लन्डन । कास्की धिताल ८ अस्ताम ठेलान्चौरमा जन्मिए सन्तोष परियार । सानै उमेरदेखि लोक दोहोरीमा एकदम रुचि राख्थे उनी । नयां नयां गीत सुन्न रुचाउने उनी कसैको घरमा रेडियोमा गीत बज्यो भने त्यहीं गएर सुन्थे । कतै कुनै गाउंमा बिहे पर्यो भने उनी पनि सहभागी हुन्थे । बिहेमा लोक दोहोरी गाउथे र रत्यौलीमा पनि उत्तिकै गीत गाउन तम्सिन्थे सन्तोष ।

‘मेरो सिंगो गाउं नै लोक दोहोरीको उर्वरभूमि थियो । साथीहरु पनि प्राय लोक दोहोरी सुन्ने गर्थे । स्कुल जांदा होस् या पानी पंधेरो गर्दा होस्, लोकगीत नै सुन्थे साथीहरु’, सन्तोष बाल्यकाल सम्झन्छन्, ‘बजार आउंदा पनि साइबरबाट मोबाइलमा नयां नयां गीत राखेर लान्थ्यौं हामी । सानैदेखि मेरो रगतमा लोकगीत भिजिसकेको थियो ।’

सन्तोषकै स्मृतिमा बिष्णु खत्रीको पञ्चेबाजा गीत दुना टपरी… एकदम धेरै सुन्थे उनी । यही गीतमा उनले दोहोरी पनि गाए । पछि आफैं गीत लेख्ने आंट गरेर वि.स. २०६७ सालमा उनले एउटा गीत लेखे । तर, त्यो गीत रेकर्ड गर्ने भन्दा भन्दै गीत लेखेको कापी नै हरायो । यही बेला उनी विदेश आउने चक्करमा गीत लेखन त्यत्तिकै ओझेल पर्यो ।

‘मैले गीत लेख्ने रहर लगभग मनबाट हटाइसकेको थिएं तर विदेश आएको केहि वर्ष पछि फेरि गीत लेखन शुरु गरें’, उनी सुनाउंछन्, ‘मैले मेरो पहिलो गीत रेकर्ड गरेर फाइनल भएपछि फेसबुकमा राखेको थिएं । धेरैले मन पराएर राम्रो प्रतिक्रिया दिनु भयो । त्यसपछि मैले तीनवटा गीत लेखें ।’

पछिलो समय उनको शब्द सिर्जनामा ‘पन्चे बाजा…’ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । उक्त गीत छोटो समयमै धेरैको रोजाइमा परेको सन्तोष बताउंछन् ।