चलचित्र चलेन, चल्दैन, लगानी उठेन भन्ने निर्माताहरुका लागि यतिबेला दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’ गतिलो जवाफ भएका छन् । बर्षको अन्तिम शुक्रबार प्रदर्शनमा आएका यी चलचत्रिको व्यापारले निर्मातालाई त खुशी बनाएको छ नै, चलचित्र क्षेत्र पनि दंग छ ।
दुबै चलचित्रको व्यापार खासै फरक देखिएको छैन । वैशाख १ गते दुबै दर्शकले देशभर हाउसफुलको व्यापार गरेपछि दुबैको व्यापार १ करोड माथि पुगेको छ ।
चलचित्र ‘नाई नभन्नु ल ३’ले ५ दिनमा १ करोड ३५ लाख हारहारीको व्यापार गरेको छ । काठमाण्डौका वितरक सुनिल मानन्धरले ५ दिनमा काठमाण्डौ भित्र ७० लाख ग्रस कलेक्शन भएको जानकारी दिए ।
शनिबार र नयाँ बर्षको बिदाले यो चलचित्रको व्यापारलाई उकासेको छ । नयाँ बर्षको दिन काठमाण्डौका हलमा दर्शकलाई टिकट पाउन मुश्किल परेको थियो । काठमाण्डौ बाहिरका अधिकांश हलमा दर्शकको ओभरफ्लो देखिएको थियो । दर्शकले भूइमा बसेर चलचित्र हेरे ।
चलचित्र ‘हवल्दार सुन्तली’मा पनि यस्तै ओभर फ्लो देखियो । काठमाण्डौ भित्र सिट संख्या बराबरको टिकट बेचिएतापनि काठमाण्डौ बाहिरका धेरैजसो हलमा दर्शकले भूइमा बसेर चलचित्र हेरे । चलचित्र ‘हवल्दार सुन्तली’ले ५ दिनमा १ करोड २० लाख हारहारीको व्यापार गरेको छ । काठमाण्डौका वितरक गोपाल कायस्थले ५ दिनमा काठमाण्डौ भित्र करिब ७० लाखको ग्रस कलेक्शन भएको बताए ।
दुबै चलचित्रको व्यापार काठमाण्डौ र काठमाण्डौ बाहिर उस्तै छ । दुई चलचित्रसँगै प्रदर्शनमा आएको चलचित्र ‘सेतो बाघ’ पनि व्यापारिक लडाइमा केही पछि देखिएको छ । बलिउड नायिका सन्नी लियोनीको ‘लिला’ले दुई नेपाली चलचित्रको व्यापारलाई खासै असर गरेको छैन ।
छविराज ओझाको निर्माणमा ऋषि लामिछानेले निर्देशन गरेको ‘हवल्दार सुन्तली’मा शिल्पा पोख्रेल, सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । यस्तै, विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको ‘नाई नभन्नु ल ३’मा आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइटेल, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।
दुई चलचित्रको व्यापारले चलचित्रको ब्रान्ड बनाउन सक्ने हो भने दर्शक उर्लिन्छन् भन्ने देखाएको छ ।






