काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण कोरियाका सभामुख छङ उई ह्वाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा उहाँहरुबीच दुईदेशबीचको सम्बन्ध, आपसीहित र चासोको विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा कोरियाली सभामुख ह्वाले नेपाल र कोरियाबीच अत्यन्तै मित्रवत र घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै भूकम्पछिको पुनःनिर्माण दु्रतगतिमा भएर नेपालले छिट्टै समृद्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विश्वकै सर्वाेच्च शिखर सगरमाथा र अन्नपूर्णलागयत हिमशृङ्खलाले संसारभरका पर्यटकलाई लोभ्याउने गरेको बताउँदै उहाँले नेपाल विश्वभरका पर्यटकको लागि सुन्दर गन्तव्य रहेको भनी प्रशंसा गर्नुभयो । भेटका अवसरमा सभामुख ह्वाले नेपालको प्राकृतिक सम्पदा र पर्यटनका विषयमा केन्द्रित रहेर निकै चासोका साथ गहिरोसँग विस्तृतरुपमा छलफल गर्नुका साथै नेपालका हिमशृङ्खलाको प्रशंसा गर्नुभयो ।






