सञ्चार क्षेत्रलाई उद्योगका रूपमा मान्यता

sherdhan raiकाठमाडौँ- सरकारले पहिलो पटक सञ्चार क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिने भएको छ ।

सञ्चार क्षेत्रमा ठूलो लगानी भएको र व्यावसायिकता एवम् उद्यमशीलता अभिवृद्धि हुँदै गएको अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सञ्चारमाध्यमलाई औद्योगिक नीतिमा समावेश गरिने भएको हो । औद्योगिक व्यवसाय ऐनमा संशोधन गरेर वा विशेष प्रस्ताव मार्फत निर्णय गरी उद्योगका रूपमा समावेश गर्न सिफारिस प्रक्रिया अगाडि बढाइएको छ ।

मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन गरी सञ्चार क्षेत्रलाई उद्योगका रूपमा वर्गीकरण गरी कानुनतः उद्योगले प्राप्त गर्ने छुट, सुविधा र सहुलियत ती क्षेत्रलाई समेत प्रदान गर्न मन्त्रिस्तरको आजको निर्णयबाट सिफारिस गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटी, रेडियो तथा टेलिभिजन प्रसारक संस्था, चलचित्र क्षेत्रसँग सम्बन्धित संस्था तथा सो क्षेत्रका विज्ञको सुझावका आधारमा मन्त्रालयले एफएम रेडियो, डिजिटल रेडियो सेवा, प्रिन्ट मिडिया उद्योग, अडियो भिजुअल सामग्री उत्पादन उद्योग, विज्ञापन निर्माण उद्योगलाई उद्योगका रूपमा समावेश गर्न सिफारिस गरेको छ ।