काठमाडौँ- संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र यो प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ ।
उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरुको आर्थिक अवस्था के हो भन्ने बारेमा प्रस्ट रुपमा सार्वजनिक जानकारी भने आउन सकेको छैन । “आयोगले पनि अध्ययन गर्न आवश्यक देखिएको छ,” आयोग प्रवक्ता पुष्करले भन्नुभयो – “यो अहिलेसम्म पूर्ण रुपमा स्पष्ट भइसकेको छैन । तर उक्त मेगा भ्रष्टाचारसँग नेपालको पनि कुनै न कुनै सम्बन्ध जोडिएको हुनसक्छ ।”






