काठमाडौँ- नेकपा (एमाले) को जारी केन्द्रीय छैटौँ बैठकमा आज विभिन्न आठ समूहका टोली नेताले प्रस्तुती गरेका छन् ।
यही चैत २७ गतेदेखि सुरू भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको १२ पृष्ठे राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न १० समूह विभाजन गरिएको थियो । समूहका नेताले सुझाव प्रस्तुत गर्दै पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, राष्ट्रिय विकासका कार्यक्रममा सरकार क्रियाशील हुनुपर्ने धारणा आएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
दुई समूहको प्रतिवेदन प्रस्तुती सकिएर अध्यक्षले जवाफ दिएपछि सो प्रतिवेदन पारित गरी केन्द्रीय निकायका प्रतिवेदन पेस गरिने पोलिटब्युरो सदस्य भानुभक्त ढकालले बताउनुभयो । एमालेको अर्काे बैठक २०७३ वैशाख १ गते २ बजे बस्नेछ ।
टोली नेताहरूमा कर्णबहादुर थापा, सीता गिरी ओली, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टङ्क कार्की, ठाकुर गैरे, राजेन्द्र राई, गणेश पहाडी, शेरबहादुर तामाङ र केदार न्यौपाने रहनुभएको छ ।
बैठकका लागि स्थायी कमिटीका निर्णयहरू अनुमोदन, पार्टी विभागहरूमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ, केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावलगायत कार्यसूची छन् ।






