काठमाडौं, १६ कात्तिक । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई कडा चेतावनी दिएको छ ।
विगत महिना दिनदेखि भारतीय हस्तक्षेपविरुद्ध संकलन गरिएको ५ लाख हस्ताक्षर परराष्ट्रमन्त्री थापाले बुझ्न नमानेपछि युवा संघले मन्त्रालय पुगेर भारतको चाप्लुसी नगर्न थापालाई चेतावनी दिएको हो ।
साथै हस्ताक्षर बुझाउन गएको युवा संघको टोलीले परराष्ट्र मन्त्रालयमा दर्ता गराएर फर्किएको छ । समय दिएर पनि आफूहरु पुगिसकेपछि मन्त्री थापाले कार्यक्रम रद्द गरी हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले भारतको चाप्लुसी नगर्न चेतावनी दिएको उपाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो ।
यसअघि भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीविरुद्ध युवा संघले काठमाडौंमा ५ लाख जनताको हस्ताक्षर संकलन गरेको थियो । साथै युवा संघले परराष्ट्रमन्त्री थापा भारतको इशारामा चलेको आरोप समेत लगाएको छ ।
हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले परराष्ट्र मन्त्रालयमै कोणसभा गरी मन्त्री थापाको बिरोध गरेको छ । कोणसभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले नेपाली जनताले दिएको कुर्सीमा बसेर भारतको चाप्लुसी गर्न नपाइने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘यो सरकार राष्ट्रियता स्वाधीनताको जगमा बनेको हो भन्ने कुरा मन्त्रीले बिर्सन हुँदैन ।’ मन्त्री थापाले अन्तिम समयमा कार्यक्रम रद्द गर्नुको कारण खुल्न सकेको छैन ।
कमल थापालाई युवा संघको चेतावनीः नेपाली जनताको कुर्सीमा बसेर भारतको चाप्लुसी नगर






